बुटवल - रुपन्देहीको देवदहमा अवस्थित स्वर्णिम सगरमाथा कलेजले बिबिएस चौथो बर्षको परीक्षामा नेपालमैै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ। कलेजले शनिबार देवदहमा कार्यक्रम गरेर विद्यार्थी सुष्मा गैरेले २०७७ सालको बिबिएस चौथो बर्षको परीक्षामा नेपालमै उत्कृष्ट नजिता ल्याएको दावी गरेको हो।
बिबिएस चौथो बर्षको हालै प्रकाशित नतिजामा विद्यार्थी गैरेले ८२ प्रतिशत अंक ल्याएको कलेजले बताएको छ। सगरमाथा कलेजका प्रमुख कृष्णप्रसाद पौडेलले विद्यार्थी गैरेले ल्याएको नतिजा नेपालकै उत्कृष्ट भएको त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले जानकारी गराएको दावी गरे।
गैरेसँगै सोही कलेजका विद्यार्थी पुनम जैसीले ६७ प्रतिशत, प्रशान्त रिमालले ६० प्रतिशत, रेणुका थारुले ५९ प्रतिशत र लक्ष्मी पौडेलले ५८ दशमलव ८ प्रतिशत नतिजा ल्याएर कलेजको शैक्षिक प्रगतिमा सहयोग गरेको पौडेलको भनाई छ । कलेजले शनिबार राखेको बधाई तथा सम्मान कार्यक्रम उनले सो जानकारी गराएका हुन्।
कलेज ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्दै शैक्षिक उत्कृष्टतामा छोरीको भुमिका पनि अब्बल बन्दै गएको बताए। छोराछोरी विचमा शैक्षिक विभेदको अन्त्य हुँदै गएको उल्लेख गर्दै मेयर खत्रीले विद्यार्थी गैरेले ल्याएको नतिजाले हौसला थपेको बताए। शिक्षाविना समाज रुपान्तरण हुन नसक्ने बताउदै उनले अहिलेको आवश्यकता भनेकै व्यवहारिक शिक्षा भएको उल्लेख गरे।
कार्यक्रममा कलेजका सहायक प्रमुख प्रदिप अधिकारी, दामोदर सापकोटा, अभिभावक वासुदेव रिमाल, यज्ञप्रसाद गैरे, विद्यार्थी सुस्मा गैरे लगायतले शैक्षिक उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई बधाई तथा शुभकामना दिएका थिए। कलेजले कक्षा ११ देखि स्नातक तहसम्म ब्यवस्थापन, विज्ञान र मानविकी संकायमा अध्यापन गराउदै आएको छ ।