बुटवल - बुटवल उपमहानगरपालिकाले आफ्नो ६२ औं स्थापना दिवस मनाएको छ । २०१६ साल फागुन ३ गतेकै दिन हालको बुटवल उपमहानगरपालिका अर्थात तत्कालिन बुटवल खस्यौली नगरपालिका स्थापना भएको सम्झनामा दिवस मनाइएको हो ।
स्थापना दिवसका अवसरमा सोमबार कार्यालय परिसरमा आयोजित समारोहमा उपमहागर प्रमुख शिवराज सुवेदीले नयां व्यवस्था र प्रणालीमा शुन्यबाट काम गरेर पनि हेर्ने र देख्ने गरी विकास गरिएको बताए।
बुटवलमा क्रियाशील राजनीतिक पार्टीहरुले चुनावी घोषणा पत्रमा उल्लेख गरेका योजनाहरुलाई सम्बोधन गर्ने गरी उपमहानगरपालिकाले आवधिक र दीर्घकालीन महत्वका योजनासहितको गुरुयोजना निर्माण गरिएको उनले जानकारी दिए ।महानगरीय अबधारणाका साथ बृहत बुटवल स्थापना गर्नेगरि विभिन्न खालका योजना छनौट गर्दै तीनै तहका सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक अगुवाहरुको सहकार्यमा साकार पारिने प्रमुख सुवेदीले बताए।

बुटवल उपमहानगरपालिकाले हिलपार्कमा बुद्धपहिचान पार्क, जितगढीमा बटौली युद्ध संग्रहलाय, जितगढीको सम्बद्र्धन र विस्तार, मोतिपुरमा थारु सांस्कृतिक संग्रालय, नयाँगाउँमा ढुवानीग्राम, नरेनापुर धाममा भ्यू टावर, बैठौलिया तालमा व्यवस्थित नौकाविहार र थारु होमस्टे तथा बुटवल रामनगरमा आधुनिक पशु बधशाला जस्ता महत्वपूर्ण आयोजना निर्माणका काम सुरु गरेको समारोहमा सुवेदीले बताए ।
उपप्रमुख गुमादेवी आचार्यले पालिकाले अब्बल स्थान हासिल गर्न सफल भएको बताउंदै अब हरेक काम र हरेक क्षेत्रमा देशभरका स्थानीय तह भन्दा बुटवललाई उत्कृष्ट बनाउने गरी काम गरिएको बताइन् । कार्यक्रममा गौतमबुद्ध सामुदायिथक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल, राप्रपाका नेता तथा बुटवल नगरपालिकाका भूपू प्रमुख पुनाराम पोखरेललगायतले सबै नगरवासीलाई अपनत्व हुने गरी कार्यसम्पादन गर्न र व्यवसायिक मैत्री वातावरण बनाउन आग्रह गरेका थिए ।

विभिन्न व्यक्तित्व, कर्मचारी र संघसंस्था सम्मानित
कोरोना महामारी नियन्त्रणका बेलामा आइसोलेशनमा खटेर खाना खुवाउने, सुरक्षा प्रवन्ध मिलाउने सुरक्षाकर्मी, कर्मचारीदेखि उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट टोलविकास संस्था, हरियाली प्रवद्र्धनमा सक्रिय संस्था तथा व्यक्ति र विभिन्न व्यक्तित्वलाई समेत स्थापना दिवसकै अवसरमा सम्मान गरिएको थियो ।
ठूला करदाताका रुपमा सबैभन्दा धेरै सम्पत्ती कर बुझाउनेहरुमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल टेलिकम, मधुसुदनलाल श्रेष्ठ, मानवहादुर केसी, विलासमोहन बझानथाक्क्षेलाई सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले जानकारी दिए । यसैगरी सबैभन्दा धेरै बहालकर बुझाउनेहरुमा मधुसुदनलाल श्रेष्ठ, पोष्टराज ज्ञवाली, मञ्जु ज्ञवाली, ज्ञानेन्द्रप्रसाद मल्लीलाई सम्मान गरिएको थियो ।

यस्तै उपमहानगरमा ३० वर्षभन्दा बढि सेवा अवधिका ९ र अन्य पाँच जनागरि १४ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यसम्पादनमा उत्कृष्ट १५ जना कर्मचारीहरुलाई नगद जनही १५ हजारका दरले सम्मान गरिएको थियो । स्थापना दिवसकै अवसरमा १९ वडाका उत्कृष्ट टोल विकास संस्थालाई पनि सम्मान गरिएको थियो ।
हरियाली प्रबद्र्धन गरेको भन्दै नरिश्वर पौडेल, आयुर्वेद र योगाका महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै यागाचार्य विष्णुहरि आचार्य, निर्माण व्यवसायी सहदेब खड्का, तल्लो देविनगर टोलविकास संस्थाका दुर्गाप्रसाद श्रेष्ठ, एफ सेक्टर टोल विकास संस्थाका टेकबहादुर गुरुङ, नहरपुर माविका प्रअ धनिश्वर गौतम र नवरत्न माविका प्रअ हेमराज आचार्यलाई संस्थागत तथा व्यक्तिगत रुपमा सम्मान गरिएको थियो ।
महामारीका बेलामा क्यान्टिन सञ्चालन गरेर संक्रमितका लागि खाना खुवाउने रामहरी पोखरेल, विरामी बोक्ने एम्बुलेन्स चालक बिरबहादुर क्षेत्री, प्रहरी हवल्दार खिम विक्रम थापा र जवान विक्रम परियारलाई सम्मान गरिएको थियो ।
