गुल्मी । जिल्लाको गुल्मी दरवार गाउँपालिकाले गाउँका ९ जना युवालाई डोजर अपरेटर बनाउने भएको छ । तालिममा सहभागी हुने युवाहरुलाई गाउँपालिका प्रमुख अशोक कुमार थापाले सम्मानसहित बिदाई गरे । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम मार्फत गाउँपालिकाका ९ जना युवाहरुलाई एक महिने तालिमका लागि काठमाण्डौ पठाइएको छ ।
एक महिने तालिमको लागि गाउँपालिकाले डोजर टे«निङ सेन्टर भक्तपुरसंग सम्झौता गरेको छ । तालिममा सहभागीहरुलाई खाने, बस्ने, तालिम र यातयात खर्चको व्यावस्था गाउँपालिकाले गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । पछिल्लो समय सडक निर्माण र मर्मतका लागि डोजरको माग बढ्दो छ । त्यो बाहेक अरु थुप्रै निर्माणका काममा डोजरको प्रयोग बढि हुने गरेको छ । तर, गाउँमा जनशक्ति छैनन् । त्यसैले तालिम मार्फत जनशक्ति उत्पादन गर्ने उदेश्यले युवाहरुलाई डोजर अपरेटर तालिमका लागि काठमाण्डौ पठाइएको पाण्डेयले बताए ।
उनले गाउँकै युवाहरु तालिम प्राप्त भएपछि गाउँपालिका आफैले डोजर संचालन गरेर सडक मर्मत र निर्माणको काम गर्न पनि सक्ने बताए । गाउँपालिकाले तालिमको लागि प्रत्येक वडाबाट चालक अनुमति पत्र भएका, रोजगारी गुमेका, बिपन्न तथा असाहय एक÷एक जना युवाको आवेदन माग गरेको थियो । अहिलेसम्म गाउँपालिकाले निर्माण व्यावसायी र उपभोक्ता समिति मार्फत सडक निर्माण र मर्मतको काम गरिरहेको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार मार्फत डोजर अपरेटरसहित आयआर्जनका २० भन्दा बढि कार्यक्रम संचालन हुुँदैछन् ।
सिलाईकटाई, अचार बनाउने, हाउस वायरिङ र पलम्बिङ लगायतका कार्यक्रम संचालनको योजनामा रहेको गाउँपालिका प्रमुख अशोक कुमार थापाले जानकारी दिए । गाउँ–गाउँमा सीपमूलक तालिम र रोजगारीका अवसरहरु सृजना गरेर नागरिकको आर्थिक स्थितीमा परिवर्तन गर्न गाउँपालिका आफैले र सहकार्यसहित थुप्रै काम भइरहेको थापाले बताए । त्यस्तै गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय ५ जनालाई सय दिनको रोजगारी प्रदान गरिरहेको छ । गाउँपालिका प्रमुख थापाको अनुसार सोहि कार्यक्रमका श्रमिक मार्फत प्रत्येक वडामा मुख्य सडक मर्मत, घोडेटो बाटो निर्माण, पोखरी मर्मत तथा हेलिप्याड निर्माणको काम भइरहेको छ ।