सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिकामा सिलाईकटाई (हेभी खुट्टे) मेशिन वितरण गरिएको छ ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नगरपालिकाका सबै वडाका गरि २५ जना महिलाहरुलाई वुधवार एक कार्यक्रमको आयोजना गरि उक्त मेशिन वितरण गरिएको हो । नगरको महिला तथा बालबालिका शाखाको आयोजनामा विपन्न घरपरिवारका महिलाहरुलाई ड्रेस मेकर सहित करिब ४ लाखको लागतमा मेशिन प्रदान गरिएको हो । उक्त मेशिन सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्की, उपप्रमुख बिना राना र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले संयुक्त रुपमा हस्तान्तरण गरे ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख चित्र बहादुर कार्कीले नगरपालिकाले महिलाहरुलाई व्यवसायिक र अत्मनिर्भर बनाउन हस्तकला, सिलाइकटाई, ब्युटीपार्लर लगायतका तालिमहरू सञ्चालन गर्दै आईरहेको बताए । उनले यहाँका महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले आधारभूत सिलाईकटाई तालिम लिईसकेका महिलाहरुलाई मेशिन प्रदान गरिएको बताउँदै यसको पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरे । प्रमुख कार्कीले अरु महिला दिदीबहिनीहरुका लागि पनि प्रेरणा मिल्ने गरि सीप सिक्नुपर्नेमा जोड दिदैँ व्यवसायिक सफलताको कामना गरे ।
कमजोर आर्थिक अवस्था भएका महिलाहरुका लागि उनीहरुको आयआर्जनमा थप टेवा पुगोस् भन्ने हेतुले सिलाई मेशिन वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाले यसअघि नै महिला दिदीबहिनीहरुलाई सिलाईकटाई सम्बन्धि एडभान्स तालिम दिने योजना बनाएको थियो । यद्यपि, कोरोना भाइरस संक्रमणका कारण उक्त तालिम भने रोकिएको थियो । परिस्थिति सहज हुनासाथ महिलाहरुलाई ३ महिने सीपयुक्त तालिम प्रदान गरिने महिला तथा बालबालिका शाखा प्रमुख तुल्सा ज्ञवालीले प्रतिबद्धता व्यक्त गरिन् । मेशिन प्राप्त गरेपछि वडा नं। १० की मायाँ पौडेलले खुसी व्यक्त गर्दै नगरपालिका प्रति धन्यवाद ज्ञापन गरिन् । उनले मेशिनको पूर्ण रुपमा सदुपयोग गर्ने बताउँदै व्यवसायिक रुपमा आत्मनिर्भर बन्न अझै तालिमको आवश्यकता रहेको उल्लेख गरिन् ।