विराटनगर । मोरङमा एक युवकले आफ्नै प्रेमिकाको हत्या गरेका छन् । बिहेका लागि कर गर्न थालेपछि प्रेमिकाको बीभत्स हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
रतुवामाई नगरपालिका–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दाले प्रेमिका कानेपोखरी गाउँपालिका–१ होक्लाबारी घर भएकी ३० वर्षीया सरीता सोरेनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार कुटपिट गरी घाँटी थिचेर हत्या गरेका थिए । हत्या गरेपछि शव मकैबारीमा फालिदिएको प्रहरीले जनाएको छ ।
बिहेमा जानभन्दै घरदेखि निस्केकी सरिताको शव मकैबारीमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । डेढ महिनाअघिको घटनाका अभियुक्त लामो समयपछि बुधबारसाँझ मात्रै पक्राउ परेका छन् ।
यसरी भएको थियो घटना
एक सन्तानकी आमा सरीता आफूले काम गर्ने कानेपोखरी–२ मा रहेको गाई फार्मबाट १७ गते नै हिडेकी थिइन् । प्रहरीका अनुसार बिहेमा जान भनेर घरबाट निस्किएकी थिइन् । त्यसपछि रतुवामाई पुगेर सरीताले सुफललाई भेटेपछि घटना भएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
त्यसदिनदेखि फरार रहेको सुफललाई मोरङ पुलिसले महेन्द्रनगरको कञ्चनपुरबाट पक्राउ गरेको छ । उनलाई पक्राउ गरी मोरङ ल्याइसकिउको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरीताले कर गर्न थालेपछि दुई जनाबीच वादविवाद भएको पाइएको जनाएको छ । विवादका क्रममा आवेगमा आएपछि कुटपिट गर्दै घाँटी थिचेर सुफलले हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ । हत्याअघि उनीहरुबीच शारीरिक सम्पर्क भए÷नभएको बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मृत्यु भएका साथीकी श्रीमतीसँग प्रेमका नाममा अवैध सम्बन्ध राख्दै आएका सुफलले भने त्यसअघि नै दुईवटा बिहे गरिसकेका छन् । । प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान रहेको खुलेको छ । प्रहरीले म्याद थप गरेर अनुसन्धान थालेको छ ।