काठमाडौं। भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्रीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गर्नुभएको छ ।
भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उहाँहरुले सो जाँचचौकीको उद्घाटन गर्नुभएको हो । सहजरुपमा व्यापार प्रवर्द्धनका लागि सो जाँचचौकी महत्त्वपूर्ण मानिएको छ । यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्याश गरिएको छ । नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्त्वपूर्ण मानिएको छ ।
यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ । सवारी साधनको सहज पार्किड, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्त्वपूर्ण सहयोग गर्नेछ । उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए ।
यस्तै, बैतडीको झुलाघाट नाकामा दुई पक्की पुल निर्माण हुने भएको छ । सो अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिनुभएको थियो । बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए ।
यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउनेछ । झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैँमा महत्त्वपूर्ण छ । झुलाघाट नाकामा करिब दुई सयवर्ष अघि निर्माण भएको झोलुङ्गे पुलबाट आवतजावत हुँदै आएको छ ।
त्यस्तै, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ । सो स्थानमा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो ।
पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ । सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ । गत फागुन १ गते नै कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सो सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने बताउनुभएको थियो ।
बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो । बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसमेत भइसकेको छ ।