काठमाडौं-नेपालमा अनलाइन कार्ड भुक्तानीलाई सहज बनाउन नेपालको अग्रणी अनलाइन बजार दराज र डिजिटल भुक्तानी टेक्नोलोजीमा प्रख्यात् भिसाले साझेदारी गर्ने भएका छन्।
सन् २०१८ मा अलिबाबाद्वारा अधिग्रहण भएदेखि दराजले अलिबाबाको टेक्नोलोजी र अनुभवको लाभ उठाउदै आफ्नो ग्राहकहरुको लागि बढी सुविधाजनक सुरक्षित र सजिलो अनलाइन पूर्वभुक्तानीविधिहरु विस्तार गर्दै आएको जनाएको छ।
दराज र भिसाले आफ्नो ग्राहकहरुलाई असोज १४ (सेप्टेम्बर ३०) सम्म भिसाकार्ड प्रीपेन्टमा १५% छुट दिइरहेका छन्। दराजमा ५,००० भन्दाबढी विक्रेताहरू र उनीहरुले बेच्ने इलेक्ट्रोनिक्स, किरानादेखि फेसनसम्मका ४,५०,०० भन्दा बढी उत्पादनहरू रहेका छन्।
ग्राहकहरुले यीमध्ये कुनैपनि छनौट गरि, आफुले दराजमा सेभ गरिराखेको भिसाकार्डमार्फत पूर्वभुक्तानी गरे रु५०० सम्मको अधिकतम छुट पाउने दराजले जनाएको छ। दराजका अनुसार यो अफर एकपटक मात्र प्रयोग गर्न सकिन्छ र नेपालमा जारी भिसा क्रेडिट, डेबिट र प्रीपेड कार्डहरुमा लागू हुनेछ।
"नेपालमा अनलाइन भुक्तानी विधिहरूको विकासका लागि सामूहिक प्रयास आवश्यक छ। त्यसैले हामी भिसासँग मिलेर यस कार्यलाई अघि बढाउन एकदमै खुसी छौं। यो प्रारम्भिक प्रस्तावको साथ हामी हाम्रा ग्राहकहरुलाई पहिलेदेखि नै बढी सुविधाजनक र सुरक्षित अनलाइन पूर्वभुक्तानी विधि प्रयोग गर्दा थपलाभ प्रदान गर्न चाहन्छौं,"-दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने।
भिसामा मर्चन्ट सेल्स, अक्वेरिंग र साइबर सोर्सका प्रमुख, शैलेश पलले भने,-"सामाजिक दूरीको आवश्यकतालाई ध्यानमा राख्दै डिजिटल भुक्तानी र अनलाइन शपिंग हाल एकदमै महत्वपूर्ण भएको छ। हामी अनलाइन खरीददारहरूलाई अनलाइन भुक्तानी सुविधामार्फत एक सुरक्षित अनुभव प्रदान गर्न चाहन्छौँ र यसको लागि नेपालको अग्रणी अनलाइन बजार दराजसँग साझेदारी गर्न पाउँदा खुसी छौं। दक्षिण एसियाली बजारहरूमा दाराजसँगको हाम्रो सम्बन्धले उपभोक्ताहरूको किनमेलका अनुभवहरुलाई सुधार गर्न स्थापित कम्पनीहरु साझेदारीमा जानुपर्ने र जानसक्ने कुरालाई प्रमाणित पनि गर्दछ।”
नेपालमा अनलाइन शपिंगको माग र अनलाइन भुक्तानीको प्रयोग बढ्दैछ। यस साझेदारीको साथ, दराज र भिसा संयुक्त रूपमा आउँदो दिनमा ग्राहकहरूका लागि विश्वसनीय, सुरक्षित र झन्झटमुक्त अनलाइन शपिंग अनुभव सुनिश्चित गर्न चाहने दराजले विश्वास लिएको छ।