सामाजिक सञ्जाल र अन्तराष्ट्रिय मिडियाका अनुसार एप्पलको बहुप्रतिक्षित आइफोन ट्वेल्भ अक्टोबर १३ अर्थात मंगलबार सार्वजनिक हुने भएको छ।
उक्त इभेन्ट नेपाली समय अनुसार आउँदो मंगलबार राति १०:४५ बजेबाट सुरु हुनेछ भने एप्पलको वेबसाइट, एप्पल टिभी एप र युट्युबमा समेत प्रत्यक्ष प्रसारण गरिने कम्पनीले जनाएको छ ।
‘हाई स्पीड’ट्यागलाइनसहित कम्पनीले उक्त फोन सार्वजनिक गर्न लागेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
एप्पलले सार्वजनिक गरेको पोस्टरका अनुसार कार्यक्रम अमेरिकी समयअनुसार बिहान १० बजे एप्पल पार्कमा आयोजना हुनेछ।
कम्पनीले उक्त भर्चुअल इभेन्टको बारेमा पूर्ण जानकारी दिएको छैन। तर बहुप्रतिक्षित आइफोन ट्वेल्भ सिरिजका स्मार्टफोनका साथै ओभर-इयर हेडफोन लगायतका डिभाइस सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यसका साथै आईफोन ट्वेल्भ सिरिजमा चारवटा स्मार्टफोन सार्वजनिक हुनेछन् , जसमा आईफोन मिनी, प्रो र म्याक्स हुन सक्ने अपेक्षा गरिएको छ।
तीमध्ये आइफोन मिनीमा ५.४ इन्चको डिस्प्ले रहनेछ भने यसलाई सिरिजकै सबैभन्दा सस्तो फोन हुनेछ। यसैगरी आईफोन ट्वेल्भ सिरिजमा फाइभजी सपोर्ट र ए१४ बायोनिक चिपसेट समेत जडित भएको अनुमान गरिएको छ ।