रुपन्देही । पत्रकार महिलाका लागि कानूनी सचेतना तालिम विहीवारदेखि बुटवलमा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह रुपन्देहीको समन्वयमा आयोजना गरिएको तालिम उद्घाटन गर्दै उपप्रमुख गुमादेबी आचार्यले कानूनको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताइन् ।
उनले उपमहानगरलाई समृद्ध बनाउन पुर्वाधार निर्माणसंगै भौतिक विकास आवश्यक हुने बताउँदै पत्रकारलाई सचेत बनाउँदा समाजमा सहि सूचना जाने उल्लेख गरिन् ।
सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनैपनी विषय कानून भन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवश्यक रहेको बताइन् । तालिममा जिल्लाभरका ३७ जना पत्रकार महिलाको सहभागीता रहेको सन्चारिका समुहका अध्यक्ष निरु गौतमले जानकारी दिए ।
दुई दिनसम्म चल्ने तालिममा उच्च सरकारी वकिल कार्यालय बुटवलका सह न्यायाधीवक्ता मोहनसागर बस्याल, कानून सचिव राजेन्द्र थापा र कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानूनमा भएका ब्यवस्था तथा स्थानीय सरकारका काम, कर्तव्य र अधिकार र मुलुकी देवानी संहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।