सैनामैना - रुपन्देहीको सैनामैनामा नगरपालिकामा २२ हजार सयपत्री फूलको बेर्ना वितरण गरिएको छ। कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य पहल परियोजना अन्तर्गत सैनामैना नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपि )को साझेदारी एवम् सेतोगुँरास बाल विकास सेवा रुपन्देहीको सहजीकरणमा नगरका ४४ जना कृषकलाई उक्त फूलको बेर्ना वितरण गरिएको नगरपालिकाले जनाएको छ।
कृषकहरुलाई बेर्ना वितरण गर्दै सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीले पालिकाले कृषि क्षेत्रमा प्रथामिकता दिएको बताए। उनले नगरमा कृषक एवम् उद्यमी बन्न चाहने व्यक्तिलाई विभिन्न समयमा अनुदान प्रदान गरिएको बताउँदै फूलखेतीमा आत्मनिर्भर बन्न सोही अनुसार कृषकहरुलाई फूलका बेर्ना वितरण गरिएको उल्लेख गरे। गतवर्ष फूलखेतीबाट महिला समूहहरुले मनग्य आम्दानी गरेको भन्दै यसवर्ष पनि बेर्नाको संरक्षण गर्दै फूल तयारी गरेर बिक्री गरि मनग्य आम्दानी गर्नुपर्नेमा कार्कीकाे जोड थियो ।
मंगलबार नगरका ११ वटै वडाका गरि कूल ४४ जना कृषकलाई ५/५ सयका दरले कलकत्ता लोकल जातका सयपत्री फूलका बेर्ना वितरण गरिएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यकारी निर्देशक सुमित्रा शर्माले जानकारी दिइन्। उनले नगरमा गतवर्ष गरिएको फूलखेतीबाट राम्रो आर्यआर्जन भएकोले यस वर्ष पनि उचित प्रतिफल प्राप्त गर्ने विश्वास व्यक्त गरिन्। ‘सैनामैनालाई फूलखेतीबाट आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो,सोही अनुसार बेर्नाको सदुपयोग गर्नुहोला ।’ उनले भनिन् ‘सैनामैनामै उत्पादन भएको बेर्नालाई सैनामैनामै खपत हुने किसिमले तयारी गर्नुस्।’
सेतो गुराँस बाल विकास सेवाको समन्वयमा बहुतह कृषि तथा वृक्षारोपण कृषक समूह सैनामैना ७ देउवापारबाट प्रति बेर्ना ३ रुपैँयामा फूलका बेर्ना खरिद गरिएको हो । यस अघि नै पालिकाले सेतो गुराँसको समन्वयमा नगरमा १० वटा समूहलाई फूलका बेर्ना वितरण गरिसकेको छ ।