दाङ–दाङका एक घरधनीले तीन महिनाको घरभाडा पुरै छुट दिएका छन् । लमही नगरपालिका वडा नं. ५ निवासी नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहको परिवारले चैत, बैशाख र जेठ महिनाको घर भाडा छुट दिएको हो । पत्रकार शाह र उहाँका श्रीमान मोहन कँवरले घरमा वस्दै आएका व्यक्तिको घरभाडामा छुट दिएका हुन । ९ वटा कोठाको ३ महिनाको हुन आउने १ लाख २० हजार बराबरको घरभाडाँमा छुट दिइएको हो ।
‘लकडाउनमा व्यवसाय चलेको छैन । त्यही भएर तीन महिनाको घरभाडा लिएका होइनौं’पत्रकार शाहले भनिन्–‘यो अफ्ठेरो समयमा मानवीय सहयोगको खाँचो छ । हाम्रो तर्फबाट गर्न सकिने सहयोग गरेका हौं ।’ शाहको घरमा होटल ब्यबसाय गर्दै आईरहेका राम प्रसाद पौडेलले ब्यापार नभएको समयमा कोठाभाडा छुट गरिदिएकोमा खुसी भएका छन् । पत्रकार शाहको दम्पतीले घोराही उपमहानगर पालिका वडा नम्बर १८ नवलपुर स्थित रहेको घरको भाडापनि पुरै छुट दिए छन् ।