भैरहवा-सडक दुर्घटना दिनप्रतिदिन बढ्दै गइरहेकोले यसको न्यूनीकरणका लागि ठोस कदम चाल्न तिलोत्तमा स्वतन्त्र युवा समूहले माग गरेको छ। सिद्धार्थ राजमार्ग सडकखण्ड र रुपन्देहीमा सडक दुर्घटनाको समस्या बढ्दो क्रममा रहेको तथा दुर्घटनाले धनजनको क्षति भएकोले यसको समाधानको लागि ठोस कदम चाल्न समुहले माग गरेको हो।
समूहले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै बेलैमा समस्याको समाधान खोज्नुपर्ने माग गरेको हो।
सडक दुर्घटनाको मुख्य कारण ओभरस्पीड, मादकपदार्थ सेवन, ओभरलोड लगायतका कारण भएकोले यसलाई मध्यनजर गर्दै सम्बन्धित निकायले ठोस कदम चाल्न आवश्यक रहेको समूहका अध्यक्ष केशव पंगेनीले बताए।
समूहले प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रहरी प्रमुख हेम कुमार थापा र ट्राफिक प्रहरी प्रमुख महेश बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न ९ बुंदे माग राखेको छ।
समूहले ट्राफिक प्रहरीको निगरानी बढाउनुपर्ने, मुख्य चोकहरुमा निगरानीको लागि सीसीटिभी र गति सेन्सर मेशिन जडानको लागि पहल गर्नुपर्ने, जेब्राक्रसको विकल्पमा आकाशेपुलको निर्माणको गर्नुपर्ने, चोकचोकमा गति नियन्त्रणको लागि बेरिकेटेड (हीलटंयाक)को प्रबन्ध गर्नुपर्ने र जेब्राक्रसमा ट्राफिक सिग्नल लाइट जडानको लागि पहल गर्नुपर्ने माग गरेको छ।
त्यस्तै जिल्लाको मुख्य बजारहरुमा पार्किङलाई व्यवस्थित बनाउनुपर्ने, भैरहवा–बुटवल सडकखण्ड निर्माणको क्रममा गुणस्तरहीन सामाग्रीको कारण सडक भासिएकोले सो को निरीक्षण र निगरानी गर्नुपर्ने, सार्वजनिक सवारीसाधनले उठाएको समस्याहरुको समाधानको लागि सम्बन्धित निकायसंग समन्वय गर्नुपर्ने र सडक दुर्घटना तथा यस सम्बन्धि कुरा नागरिकमा पु¥याउन जनचेतनामूलक कार्यक्रमको थालनी गर्नुपर्ने माग राखिएको समुहका सदस्य विवेक डुम्रेले बताए।