पाल्पा-पूर्वखोला गाउँपालिका उपभोक्ता हित संरक्षण समितिले पहिलोपटक पूर्वखोला गाउँपालिका क्षेत्रका पसलहरुको अनुगमन गरेको छ। पहिलो चरणको कार्यक्रम अन्तर्गत समितिले विभिन्न वडाहरुमा रहेका दैनिक उपभोग्य वस्तुका पसलहरुको अनुगमन गरेको हो।
समितिका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको नेतृत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद नेपाल, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, कर्मचारी कान्ति चुँदाली, इलाका प्रहरी कार्यालय, पूर्वखोलाका प्रतिनिधि नैन सिं रोकाया, नागरिक समाजका प्रतिनिधि हरी प्रसाद न्यौपाने, पत्रकार माया राना लगायतको टिमले बजार अनुगमन गरेको हो।
पहिलो चरणको बजार अनुगमन भएकोले पसल दर्ता गर्न, पान नं. लिन, सामग्रीहरुको मुल्यसुची राख्न र म्याद सकेका सामग्रीहरु बिक्रिवितरण नगर्न सुझाव दिएको उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताइन्।
नि. प्रमुख प्रशासकीय अधिकृत विनोद नेपालले पहिलो चरणको कार्यक्रम भएकोले ब्यापारीहरुलाई गाउँपालिकाका नियम र कानुनी प्रक्रियाहरु पूरा गरेर व्यवसाय गर्न सुझाव दिएको र दोस्रो चरणको कार्यक्रममा नियम उल्लंघन गर्नेहरुलाई कारवाहीको प्रक्रियामा अगाडि बढ्ने बताए उनले गाउँपालिकाले आगामी दिनमा नियमित रुपमा अनुगमन गर्ने बताउदै बिक्रेता र उपभोक्ता दुवै सचेत हुनुपर्ने बताए।
गुणस्तरीय सामान बिक्री वितरण गर्नको लागि व्यवसायीहरुलाई सतर्क बनाउने, उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने असरबाट बच्नका लागि सचेतना जगाउनुका साथै गाउँपालिकामा रहेका पसलहरु व्यवस्थित गर्नको लागि अनुगमनलाई निरन्तरता दिने समितिले जनाएको छ।