बुटवल-बुटवलमा मजदुर वर्गलाई दैनिक छाक टार्न असहज भइरहेका बेला कोभिड–१९ को महामारीबाट प्रभावितका लागि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा ‘फुड बैंक’ सञ्चालन गरिएको छ।
रुपन्देहीमा क्रियाशील विभिन्न क्लबको सक्रियता र सामाजिक सञ्जालमा सक्रिय घरघरमा हामी अभियानको संयोजनमा बुटवलको देवीनगर र ट्राफिकचोकमा फुड बैंक सञ्चालन गरिएको हो। लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकबाट एक पटकमा एक जनालाई अढाइ केजी चामल, आधा केजी दाल, एक केजी आलु, आधा लिटर तोरीको तेल, एक केजी प्याज, एकएक पाउ लसुन, बेसार र अदुवा, एक किलो नुन, पाँच मास्क र साबुन प्रदान गरिने छ।
कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्ले सञ्चालन गरिएको फुड बैंकमा हुनेहरुलाई सहयोग गर्न र नहुनेहरुलाई लैजानका लागि आग्रह गरिएको छ। सामाजिक सेवामा काम गर्ने संस्था रोटरी क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको आयोजना तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, इ–क्यान रुपन्देही र बुटवल महिला जेसिजका सहयोगमा बैंक सञ्चालन गरिएको रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी दिए।
बुटवलको देविनगरमा सोमबारदेखि सञ्चालनमा आएको फुड बैङ्कले हुनेले दिएर जाऔ नहुनेले लिएर भन्दै सहयोगदाताबाट सहयोग ल्याउने र नहुनेहरुलाई वितरण गर्ने घरघरमा हामी अभियानका संयोजक शिव डुम्रेले बताए ।