बुटवल-रुपन्देहीको एक स्थानीय तहका एकजना वडाध्यक्षले नगरपालिकाका कर्मचारीलाई अपशब्द प्रयोग गर्दै गालीगलौजको शैलीमा धम्की दिएका छन्।
देवदह नगरपालिका १२ का अध्यक्ष बाबुलाल यादवले नगरपालिकाका योजना, प्रशासन तथा अनुगमन शाखाका प्रमुख रमेश गिरीलाई गाली गर्दै खुट्टा काटिदिने धम्की दिएको भन्दै कर्मचारीहरुले उनलाई कारबाहीको माग गर्दै काम रोक्ने बताएका छन्।
उनले आफ्नो वडाको सिक्टहन स्वास्थ्य केन्द्रको प्रमुखमा वरियता मिचेर आफ्नो मान्छेलाई प्रमुख नबनाएकोमा आक्रोश पोख्दै अध्यक्ष यादवले गिरीलाई बुधबार बिहान फोनमार्फत तथानाम गाली गरेको अडियो सार्वजनिक भएको छ।
सार्वजनिक भएको अडियोमा उनले गाली गर्दै ‘हेल्थपोष्टमा आइजा, खुट्टा काटिदिन्छु’ भन्दै गिरीलाई धम्क्याएका छन्। स्वास्थ्य केन्द्रको प्रमुखमा नियुक्ति पाएका व्यक्तिलाई हाजिरी गराएर देखाउन वडाध्यक्ष यादवले चुनौति दिएका छन्।
स्वास्थ्य केन्द्रको प्रमुखमा छैठौं तहका अधिकृतलाई नियुक्ति गरिएकोमा वडा अध्यक्ष यादवले पाँचौ तहका आफ्नो मान्छेलाई नियुक्त गर्नुपर्ने दवाव दिँदै आएको र उनले भनेअनुसार नभएपछि उनी आफूमाथि खनिएको गिरीले बताए। उनले स्वास्थ्यकेन्द्र प्रमुखको नियुक्ति गर्ने काम आफुको नभएपनि कुरा नबुझी धम्क्याएको बताए।
यसबारे यादवसँग प्रतिक्रिया लिने प्रयास गर्दा उनको मोबाइल दिनभर स्वीच अफ थियो।