बुटवल-बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि बन्द गरिएको अस्पतालको सेवा शनिबार बिहानदेखि सुचारु हुने भएको छ।
अस्पतालले पीसीआर परीक्षणमा नेगेटिभ आएका स्वास्थ्यकर्मी र कर्मचारीहरु खटाएर शनिबार बिहानदेखि सेवा शुरु गर्ने जनाएको हो।
अस्पतालका अध्यक्ष एजाज आलमले विज्ञप्ति निकालेर भनेका छन्-'चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि भदौ १३ गतेदेखि अस्पतालमा भर्ना भएका बिरामीको उपचार र डायालिसिस सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिएका थिए। अस्पतालको सेवा बन्द गरिएसगै सम्पुर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको पिसिआर परिक्षण गरिएको र अस्पताललाई निर्मलिकरण गरिसकिएकोले सेवा सुचारु गर्न लागिएको हो।'
उनले पिसिआर परिक्षणपछि कोरोना संक्रमण देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आईसोलेसनमा रहेको र पिसिआर नेगेटिभ रिपोर्ट आएका चिकित्सक तथा स्वास्थ्यकर्मिले मात्र अस्पतालका सेवा सञ्चालन गर्ने जनाएका छन्।
शनिबारदेखि अस्पतालको आकस्मिक सेवासँगै ओपिडी, भर्ना लगायतका सम्पुर्ण सेवाहरु पहिले जसरी नै सञ्चालन हुने उनले जनाएका छन्। उनका अनुसार अब बिरामी भर्ना गर्दा पीसीआर परीक्षण अनिवार्य गरिएको छ।