बुटवल–बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा कार्यरत रहँदा कोरोना संक्रमण भएका स्वास्थ्यकर्मी र कर्मचारी संक्रमणमुक्त भएर काममा फर्किएका छन्। कोरोना संक्रमणमुक्त भएका आफ्ना कर्मचारी तथा अस्पतालका स्वास्थ्यकर्मीहरुलाई अस्पतालले स्वागत गरेको छ।
दुईसाता अघि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि आईसोलेसनमा बसेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु संक्रमणमुक्त भएपछि नियमित काममा फर्किएका हुन्।
कोरोना संक्रमणमुक्त भएपनि उनीहरुको थप स्वास्थ्यलाभको कामना गर्दै र कामप्रति हौसला प्रदान होस् भनी खादा र टिका लगाएर अस्पतालमा स्वागत गरिएको अस्पतालले जनाएको छ।
कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलम, निर्देशक डाक्टर समिर गौतम, अस्पतालका सचिव दिनेशराज रेग्मी, मृगौलारोग बिशेषज्ञ डा.रजत कायस्थ, मुटुरोग विशेषज्ञ डा.मजहर खान, प्रमुख प्रशासकीय अधिकृत कमल भण्डारीलगायतले स्वागत गरे।
अध्यक्ष आलमले अस्पतालका ४६ जना स्वास्थ्यकर्मी र कर्मचारीमध्ये ३२ जना कोरोनामुक्त भई नियमित सेवामा फर्किएको जानकारी दिए। बाँकी रहेका १४ जना स्वास्थ्यकर्मी र कर्मचारीपनि छिट्टै संक्रमणमुक्त भएर नियमित सेवामा फर्किने उनले बताए। बाँकी १४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
संक्रमणमुक्त भएका स्वास्थ्यकर्मीहरु मंगलबारदेखि नै अस्पतालको नियमित सेवामा खटिने अस्पतालले जनाएको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि एकसाता अस्पतालको डायालिसिस, सिटीस्क्यान र फार्मेसी बाहेक अरु सेवाहरु बन्द गरि अस्पताललाई निर्मलीकरण गरिएको थियो।
अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले अस्पतालमा आउने जो कोही बिरामीपनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको हुनसक्ने भएकोले सोहिअनुसार सावधानीपुर्वक उपचार भईरहेको बताए।