भैरहवा–जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले शुन्य सहनशिलतामा रही काम गर्ने प्रतिबद्धता जनाएका छन्।
हालै मात्र रुपन्देही सरुवा भई आएका एसपी पोखरेलले पत्रकारहरुसँग छलफल गर्दै भने ‘जति सक्छु गर्छु, प्रयास जारी राख्छु हार खाँदिन, कानुन कार्यान्वयनको दौरानमा कुनै सम्झौता हुदैन।’
खुला सीमाका कारण लागूऔषध, तस्करी र अपराधको चुनौती छ, सबै पक्षले सहयोग गर्नु पर्छ , प्रहरीले अगुवाई गर्छ एसपी पोखरेलले भने । प्रहरी संगठनका अन्य नियमित कामकार्यवाही लाई निरन्तरता दिदै यहाका चुनौतीका विषयलाई प्राथमिकतामा राखी काम गर्ने बताए।
उनले अपराध नियन्त्रण, लागूऔषध ओसार पसार, तस्करी, गुण्डागर्दी एवं संगठित अपराध रोक्नका लागि प्रहरी सक्रिय रहने बताए।
नवआगन्तुक प्रहरी प्रमुख पोखरेलले गर्नुपर्ने कामको योजना बनाईसकेको र निरन्तर फलोअप गर्ने, पूराना अपराध अनुसन्धानको फाइललाई हेरेर निरन्तरता दिने, गैरकानुनी धन्दामा प्रहरीको संलग्नता देखिए तुरुन्त कारबाही गर्ने बताए।
प्रहरीले एक्लो प्रयासमा सबैकुरा सुधार गर्न सम्भव नभएकोले सबै नागरिक विना वर्दीका प्रहरी हुन सबै पक्षले सहयोग गर्न उनले आग्रह गरे।
सञ्चारकर्मीहरुलाई सूचना दिने विषयमा उनले सम्भव भएसम्मका सबै सूचना सहज ढंगले दिने बताए।
प्रहरी सेवामा २२ वर्ष बिताएका एसपी पोखरेल धरानबाट प्रहरीमा सेवा सुरु गरेका थिए। ८ वर्ष प्रहरी नायब उपरिक्षक पदमा रही ५ वर्ष सिआइबीमा रहेपनि उनको अनुभव अपराध अनुसन्धान तथा अख्तियारमा पनि रहेको छ। दुर्गा तिवारी हत्याको सिलसिलामा उनी रुपन्देही आएर अनुसन्धान गरेका थिए।