चितवन-जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।
क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पुर्याउन नसकिएको बताए । केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उनको भनाइ छ ।
कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उनले जानकारी दिए ।
जिल्लामा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उनको भनाइ छ ।
यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो ।
यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।
भरतपुर अस्पतालमा ४५ शै्ययाको एचडियू
राजधानी वाहिर कोभिड–१९ को उपचारमा नेतृत्वदाही भूमिका निर्वाह गर्दै आएको भरतपुर अस्पतालमा ४५ शै्ययाको हाई डिपेन्डेन्सी युनिट (एचडियू) निर्माण थालिएको छ । दुई साताभित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा राजन पाण्डेका अनुसार निर्माणको काम थालेर सामाग्री खरिद प्रक्रियालाई अघि बढाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ शै्ययाको एचडियू निर्माण गर्न भनेको भए पनि अस्पताल विकास समितिले ४५ शै्ययाको निर्माण गर्न लागेको उनको भनाइ छ ।
कोभिड भएर अक्सिजनको आवश्यक पर्ने बिरामीलाई उपचारका लागि एचडियू बनाउन लागिएको हो । छिटोछरितो प्रक्रियाबाट सामान खरिद गरि एचडियू सञ्चालनमा ल्याइने पाण्डेले जानकारी दिए । रासस