बुटवल-रेसुंगा नगरपालिका गुल्मीले यही मंसिर ४ गते राती १२ बजेदेखि लकडाउनको घोषणा गरेको छ।
नगर क्षेत्रमा कोरोना संक्रमण तीब्र रुपमा फैलिदै गएको भन्दै नगरपालिकाले मंसिर ४ गतेदेखि १३ गतेसम्म नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख डिल्लीराज भुसालद्वारा जारी सूचनामा उल्लेख छ।
सूचनाअनुसार नगरभित्रका अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द रहनेछन्। नगरपालिकाका वडा र कार्यालयका अत्यावश्यकबाहेकका सेवा पनि बन्द हुने उनले जनाएका छन्।
तरकारी, फलफूल, दुध तथा दुधजन्य पदार्थको बिक्री वितरण बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साढे ६ बजेसम्म र अन्य पसलहरु बिहान ७ बजेदेखि बिहान ९ बजेसम्ममात्रै सञ्चालन गर्न भनिएको छ।
विवाह, ब्रतबन्धजस्ता काममा १० जनाभन्दा बढी भेला हुन नपाउने नगरपालिकाले सूचनामा भनेको छ। बैंक तथा वित्तिय संस्थाहरुले अत्यावश्यक सेवा स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने जनाइएको छ।