सैनामैना–रुपन्देहीको सैनामैना नगरपालिकामा कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । नगरपालिकाले मौरी पालन व्यवसायलाई प्रबद्र्धन गर्नुका साथै माहुरी स्रोत केन्द्र सञ्चालनका लागि विहीबार कृषकहरुलाई ३० वटा घार वितरण गरेको हो ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस वाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत नगरपालिकाको कृषि विकास शाखा मार्फत नगरमा मौरीपालन गर्ने कृषकहरुलाई मौरी घार वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
यस नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा मौरी पालन गर्ने माहुरी स्रोत केन्द्र सञ्चालनमा आबद्ध १५ जना कृषकहरुलाई दुई दुई वटाका दरले मौरीको घार प्रदान गरिएको सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।
नगरपालिकामा महको उत्पादन वृद्धि गरी कृषिमा आत्म निर्भर बनाउने उद्देश्यले घार सँगै मौरी पालनका लागि आवश्यक पर्ने अन्य सामग्रीहरु कृषकका लागि उपलब्ध गराइएको प्रमुख कार्कीको भनाइ थियो ।
कार्कीले कृषकहरुले मौरी पालनमा देखाएको चासो र सफलताका आधारमा नगरपालिकाले मौरी पालनका लागि जग्गा लिजमा समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘अहिले महको राम्रो बजार छ, प्रोत्साहन र प्राविधिक तालिमका लागि नगरपालिका सहयोग गर्न तयार छ, व्यवसायिक रुपमा मौरी पालन गर्नुहोस्’ उनको भनाइ छ ।
मौरी पालनका लागि आवश्यक पर्ने मौरी घार, मह निकाल्न आवश्यक पर्ने मह मदानी, प्लाष्टिक ज्याकेट, घुम्ती टोपी, मह काट्ने जाली, चक्कु, माहुरो ब्रस, घार स्टापड लगायतका १७ वटा सामग्रीहरु कृषकहरुलाई हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सिर्जना खनालले बताइन् ।
युएनडिपीको सहयोग र सेतो गुराँस वाल विकास सेवा रुपन्देहीको संयोजनमा नगरपालिकाले वितरण गरेको मौरी घारले कृषकहरुलाई थप हौसला र प्रोत्साहन मिल्ने कार्यकारी निर्देशक सुमित्रा शर्माले बताइन ।
शर्माले व्यवसायिक मौरी पालनका लागि आउँदो पुषमा प्राविधिक तालिम प्रदान गरी मागका आधारमा फेरी अनुदान उपलब्ध गराइने जानकारी दिइन् ।
माहुरी स्रोत केन्द्र सञ्चालनका अध्यक्ष लेखनाथ न्यौपानले नगरपालिकाले प्रदान गरेको घारले मौरी पालन व्यवसाय गर्न थप हौसला मिलेको धारणा राखे । मौरी पालन कृषक समेत रहनुभएका वडा नं.४ का न्यौपानेले २५ वटा घारमा मौरीको व्यवसाय गर्दै आएका छन् ।
त्यस्तै करिब ४ वर्षदेखि ६५ वटा घारमा मौरी पालन व्यवसाय गर्दै आएका अर्का वडा नं.५ का अर्का ठाकुरप्रसाद चालिसेले नगरमा चरन क्षेत्रको अभाव रहेकोले त्यस तर्फ पनि नगरपालिकाले ध्यान दिन जरुरी रहेको औल्याए ।
नगरमा रहेका मौरीपालक कृषकहरुले आवश्यक प्राविधिक तालिमको समेत माग गरेका छन् । माहुरी स्रोत केन्द्र सञ्चालनले आगामी वर्ष २० टन देखि ३० टन सम्म मह उत्पादन गर्ने लक्ष्य लिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।