बुटवल–बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अनुसन्धानमुलक इन्टरनेसनल वेबिनार भएको छ ।
प्रत्येक २/२ वर्षमा अन्र्तराष्ट्रिय सेमिनार आयोजना गर्ने क्याम्पसको रणनीतिअनुरुप लुम्बिनी वाणिज्य क्याम्पस अनुसन्धान तथा विकास विभागको आयोजना, विश्वविद्यालय अनुदान आयोग नेपाल, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, र नेपाल रिर्सच एण्ड एजुकेशन नेटवर्कको सहयोगमा यसवर्ष कोरोना कहरका कारण भर्चुअल रुपमा इन्टरनेसनल वेबिनार अन रिसेन्ट डेभलपमेण्ट्स इन विजनेस, म्यानेजमेन्ट एण्ड सोसल साइन्स स्प्रिडिङ ग्लोबल्ली प्रज्ञानम् ब्रह्म ०२ विषयक वेबिनार आयोजना गरिएको हो ।
नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको वेबिनारमा लुम्बिनी प्रदेशका माननीय मन्त्रीहरु, लुम्बिनी प्रदेशका माननीय प्रदेश सभा सदस्यहरु, रुपन्देही जिल्लाका नगरप्रमुखहरु, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त वास्कोटा, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा हृदयरत्न बज्राचार्य, सरदार पटेल विश्वविद्यालय, गुजरात भारतका उपकुलपति प्रा.डा. शिरिष आर कुलकर्नी, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. पेशल दाहाल, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्य, त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका विभिन्न विश्वविद्यालयका पदाधिकारीहरु, वरिष्ठ प्राध्यापकहरु, अनुसन्धानकर्ताहरुलगायतको सहभागिता थियो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वेबिनारमा बोल्दै क्याम्पसले आयोजना गरेको यसप्रकारको कार्यक्रमहरुले समग्र अनुसन्धान क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउदै लुम्बिनी वाणिज्य क्याम्पसको यो प्रयास अति प्रशंसनिय रहेको बताए ।
साथै उनले अनुसन्धानका लागि सबैलाई प्रेरित गर्ने र सरकारले आवश्यक सहयोग पनि गर्ने बताउदै वेविनारको पूर्ण सफलताको कामना गरे ।
वेबिनारमा स्वागत मन्तव्य तथा कार्यक्रमका मूख्य विषयवस्तुहरु प्रस्तुत गर्दै क्याम्पस प्रमुख प्रा. डा. तारा प्रसाद उपाध्यायले सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरु, प्राज्ञिक व्यक्तित्वहरु एवं विद्यार्थीहरु एक भई अनुसन्धानमा लागियो भने राष्ट्र र समग्रमा विश्वले नै व्यवसाय, व्यवस्थापन र सामाजिक शास्त्रमा ठूलो फड्को मार्न सक्ने बताए ।
साथै, लुम्बिनी वाणिज्य क्याम्पसले आयोजना गरेको यस इन्टरनेसनल वेबिनारमा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, अतिथिहरु, प्राज्ञिक व्यक्तित्वहरु, लेख प्रस्तुत गर्नुहुने प्रस्तोताहरु, पत्रकारहरु, उद्योगीहरु, व्यापारीहरु, विभिन्न संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, क्याम्पस व्यवस्थापन तथा विकास परिषद् सदस्यहरु, क्याम्पस परिवार, देश विदेशबाट सहभागिता जनाएका सहभागी व्यक्तित्वहरु र विद्याथीहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए।
उद्घाटन सत्रमा सरदार पटेल विश्वविद्यालय, गुजरात भारतका उपकुलपति प्रा.डा. शिरिष आर कुलकर्नी, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, पुर्व क्याम्पस प्रमुख तथा लुम्बिनी प्रदेश, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. इश्वर गौतम लगायतले बोलेका थिए।
उद्घाटन सत्रको अध्यक्षता क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले गरेका थिए भने सञ्चालन उपप्राध्यापक लक्ष्मण भण्डारीले गरेका थिए।
वेबिनारको मुख्य सत्रमा मुख्य वक्ताको रुपमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, सरदार पटेल विश्वविद्यालय, भारतका व्यवस्थापन संकायका भु.पु. डीन प्रा.डा. योगेस सी. जोशी, अफ्रिकन डेभलपमेण्ट बैंक नर्थ अफ्रिका, आइभोरी कोष्टका डा. शौमेन्द्र कुमार दास र मोहम्मद भी युनिर्भसिटि अफ रोवाट, मोरक्कोका प्रा.डा. अब्डेल्लातिफ बौआज्जाले आफ्नो बिषयमा कार्यपत्र प्रस्तुत गरे भने मुख्य सत्रको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले गरेका थिए।
त्यसैगरी, विभिन्न चार वटा विधाहरु सामान्य व्यवस्थापन तथा सूचना प्रविधि, वित्तशास्त्र तथा लेखाशास्त्र, अर्थशास्त्र तथा तथ्यांकशास्त्र र मनोविज्ञान, समाजशास्त्र तथा सामाजिक शास्त्रमा नेपाल लगायत अष्ट्रेलिया, भारत, आइभोरी कोष्ट, मलेसिया, मोरक्को, न्युजिल्याण्ड, फिलिपिन्स, स्वीट्जरल्याण्ड, थाइल्याण्डबाट ३० वटा अनुसन्धान लेखहरु प्रस्तुत भएका थिए ।
जसमध्ये, सामान्य व्यवस्थापन तथा सूचना प्रविधि विधामा ७ वटा , वित्तशास्त्र तथा लेखाशास्त्रमा ७ वटा, अर्थशास्त्र तथा तथ्यांकशास्त्रमा ६ वटा र मनोविज्ञान, समाजशास्त्र तथा सामाजिक शास्त्रमा १० वटा अनुसन्धान लेखहरु प्रस्तुत भएका थिए ।
४ वटा प्राविधिक सत्रहरुको अध्यक्षता क्रमशः त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका डाइरेक्टर प्रा.डा. महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालयका पुर्व प्राध्यापक डा. राजन बहादुर पौडेल,सरदार पटेल विश्वविद्यालय गुजरात भारतका व्यवस्थापन संकायका भुपु डीन प्रा.डा. योगेश सी. जोशी, काठमाण्डौं विश्वविद्यालय शिक्षा संकायका भू.पु. डीन प्रा.डा. मन प्रसाद वाग्लेले गरेका थिए भने उनीहरुले प्रस्तुत गरेको अनुसन्धान लेखहरुमाथि टिप्पणी राखेका थिए।
सो प्राविधिक सत्रहरुको सहजीकरण उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारी र उच्च शिक्षा सुधार परियोजना लुम्बिनी वाणिज्य क्याम्पस संयोजक पुनाराम घिमिरेले गरेका थिए।
यसैगरी, प्राविधिक सत्रहरुको समाप्ति लगत्तै सञ्चालन भएको समापन सत्रको अध्यक्षता इन्टरनेसनल वेबिनार आयोजक मूल समिति संयोजक एवं अनुसन्धान तथा विकास विभागका विभागीय प्रमुख प्रा.डा. णकृष्ण भटराईले गरेका थिए भने प्रदेश सरकार वाग्मती प्रदेशका प्रमुख सचिव डा. मान बहादुर बी.के.को उपस्थिति रहको थियो ।
प्रमुख सचिव डा. बि.के. ले कोभिड १९ का कारण आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव र यसबाट मानव जीवनमा, जिविकोपार्जनमा र स्वतन्त्रतामा अत्यन्तै अकल्पनीय असर पारेको कुरा तथ्य सहित प्रस्तुत गरेका थिए ।
सो समापन सत्रमा सहायक क्याम्पस प्रमुख सह प्राध्यापक बिष्णु जोशीको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन वेबिनार आयोजक मूल समिति सचिव उपप्राध्यापक डा. भगवती प्रसाद चौधरीले गरेका थिए ।