सैनामैना - कृषकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सैनामैना नगरपालिकामा आइतबारदेखि दुइ दिने तरकारी तथा फलफूल खेती तालिम सुरु भएको छ। कोभिड - १९ उद्धार सामाजिक,आर्थिक प्रतिकार्य परियोजना अन्तर्गत सेतो गुराँस बाल बिकास सेवाको आयोजना तथा युएनडिपि र सैनामैना नगरपालिकाको आर्थिक साझेदारीमा तालिम सुरु भएको हो।
तालिममा कृषकहरुलाई बहुतल्ले खेतीपद्धतिको परिचय ,जानकारी तथा महत्वहरु , फलफूल उत्पादन तथा व्यवस्थापन, समस्या पहिचान, प्राविधिक ब्यवस्थापन तथा जानकारी र बेमौसमी तथा मौसमी तरकारी खेति पद्धति, रोग तथा किरा ब्यवस्थापन आदिका बारेमा तालिम दिइने छ ।
तालिमको कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान पक्लिहवा क्याम्पसका बाली रोग बिज्ञान उप– प्राध्यापक राजन पौडेल र कृषि तथा पशु बिज्ञान अध्यन संस्थान पक्लिहवा क्याम्पसका बागवानी उप–प्राध्यापक रुकमागत पाठकले सहजिकरण गर्नेछन्।
तालिमको उद्घाटन गर्दै सैनामैना ७ का वडाध्यक्ष डिलाराम बेल्बासेले बिदेशबाट फर्किएका तर कृषि गर्न चाहने कृषकहरु एवम् बहुतल्ले कृषि गरिरहेका कृषकहरुका लागि लक्षित गरी तालिम सञ्चालन गरिएकोे बताए। कार्यक्रममा ३० जना कृषकहरुको सहभागिता रहेको छ। रासस