रुपन्देही । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको तिलोत्तमा गरपालिका स्थित सृजनशील बाल आश्रममा रहेका बालबालिकालाई कम्बल वितरण गरेको छ ।
वडा नं ९ मा स्थित आश्रममा रहेका १४ जना बालबालिकाहरुलाई लक्षित गरी एक कार्यक्रमका बीच कम्बल वितरण गरिएको हो ।
कम्बल वितरण कार्यक्रममा वडा सदस्य मिस्सु शाहीले बाल आश्रमले सडक बालबालिकालाई उद्धार गरी मातृत्व प्रदान गरेकाले यस्तो पवित्र कार्यमा सबैको सहयोग आवश्यक हुने बताइन् ।
कार्यक्रममा क्लबका अध्यक्ष हिराबहादुर शाहले सेवा नै धर्म हो भन्ने भावनालाई आत्मसाथ गरी सहयोग गरिएको बताए । सामाजिक क्षेत्रमा क्लब जहिले पनि सक्रिय रहेको बताउँदै उनले सहयोगी मन भए धनको अभाव नहुने धारणा राखे ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष निरु गौतमले स्वार्थभन्दा माथि उठेर अनाथ बालबालिकाका लागि सहयोग गर्नु सहननीय कार्य भएको बताइन् ।
जाडोको समयमा न्यानो कपडाको अभाव भएको भन्ने जानकारीका आधारमा आश्रममै पुगेर १५ थान कम्बल वितरण गरिएको कार्यक्रम संयोजक गोविन्द ज्ञवालीले जानकारी दिए । समाजमा शिक्षा, स्वास्थ्य तथा आवश्यकता आधारमा सहयोग गर्दै आएको क्लबका सचिव प्रियबन्धु न्यौपानेले बताए ।
चिसो समयमा उद्धार गरी ल्याइएका बालबालिकालाई ओढ्ने कपडाको अभाव भएपछि संस्थाले सामाजिक सञ्जालमार्फत सहयोगका लागि आग्रह गरेको थियो ।
विगत चार वर्षदेखि अनाथ बालबालिकाको उद्धार, संरक्षण र रेखदेख गर्दै आएको बाल आश्रमले अहिलेसम्म एक सय २१ जनालाई परिवारमा पुर्नमिलन गराएको सृजनशील संस्था नेपालका अध्यक्ष प्रतिमा शर्माले जानकारी दिइन् । आश्रममा ११ महिनाको बालकलेखि १४ वर्षसम्म बालबालिका रहेका छन् ।