भैरहवा । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना र सेन्टर फर माईक्रोफाइनान्सको सहयोगमा लघुवित्तका फिल्ड कर्मचारीहरुका लागि आयोजित तीन दिने फिल्ड व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा मनकामना स्मार्ट लघुवित्तका विभिन्न शाखा कार्यालयहरुमा कार्यरत ३६ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । सेन्टर फर माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत गणेशसिंह बिष्ट र प्रशिक्षक रामनाथ भण्डारीले कर्मचारीहरुलाई फिल्ड व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।
तालिमको समापन समारोहमा बोल्दै लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत देव सिंह बिष्टले तालिममा सिकेका विषयवस्तुलाई कार्यस्थलमा जाँदा पनि कार्यान्वयन गर्न सक्नुपर्नेमा जोड दिए । उनले संस्थाको अग्रभागमा खटिने फिल्ड कर्मचारीहरु सक्षम र अब्बल भए मात्र संस्थाको प्रगति हुने भएकाले फिल्ड कर्मचारीहरुको दक्षता अभिवृद्धि आवश्यक भएको उल्लेख गर्दै इमान्दारिताका साथ काम गर्न आग्रह गरे । उनले फिल्ड कर्मचारीलाई आवश्यक पर्ने सबै विषयवस्तु समेटेर तालिम डिजाइन गरिएको बताउँदै सिकेका कुराहरुलाई अरु सहकर्मीहरुलाई सिकाउन अनुरोध गरे ।
सेन्टर फर माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत बिष्टले लघुवित्त संस्थाहरुले गरीबी निवारण र महिलाहरुको जीवनस्तर उकास्ने काम गरिरहेको हुँदा यी संस्थामा काम गर्ने कर्मचारीहरु सक्षम हुनुपर्नेमा जोड दिदै तालिमले त्यसलाई मद्दत गर्ने बताए । सिकेका कुराहरु व्यवहारमा लागु गरेमात्र तालिम सफल हुने पनि बिष्टले जोड दिए ।
तालिमका प्रशिक्षार्थीहरु बिष्णुमाया खनाल र दिलिप कार्कीले प्रशिक्षण निकै उपलब्धीमूलक भएको बताउँदै सिकेका कुरालाई फिल्डमा जाँदा लागु गर्ने प्रतिवद्धता जाहेर गरे ।
तालिम संयोजक तथा संस्थाका आन्तरिक लेखा परीक्षण विभाग प्रमुख राजकुमार सुवेदीले संचालन गरेको समापन समारोहमा तालिमको प्रतिवेदन देवेन्द्र मिश्रले, मूल्यांकन सीमा थापाले र संयोजन कुमारी सरोज यादवले गरेका थिए । त्यसअघि तालिमको उद्घाटन संस्थाका सञ्चालक अभिषेक बेरिवालले गरेका थिए ।