गुल्मी : मालिका प्याराग्लाइडिङ्ग महोत्सव सकिएको छ । मालिका गाउँपालिकाले पर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले दुई बजार व्यावस्थापन समितिसंग सहकार्य गरेर मालिका प्याराग्लाइडिङ्ग महोत्सव आयोजना गरेको थियो ।
१५ दिनसम्म संचालन भएको महोत्सवमा ८६ उडान भएका थिए । दिउँसोमा हावाको चाप बढि हुने भएकाले बिहान ८ बजेबाट करिव १२ बजेसम्म ६ उडानको व्यावस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । उनले बजार र व्यावसायीलाई उत्साह थप्न गाउँपालिकाले पनि केहि प्रतिशत लगानी गरेको बताए ।
‘गाउँपालिका आफैले महोत्सव वा प्याराग्लाइडिङ्ग संचालन गर्दैन,’उनले भने,‘समन्वय र सहकार्यका लागि कहिल्यै पछि पर्दैनौ ।’ अर्खाबाङ र सिमलटारी बजार व्यावस्थापन समितिको संयुक्त आयोजनामा मालिका प्याराग्लाइडिङ्ग महोत्सव आयोजना गरिएको थियो । दैनिक ६ भन्दा बढि उडानको स्विकृती नभएकाले थुप्र्रैको प्याराग्लाइडिङ्ग गर्ने चाहाना पुरा गर्न नसकिएको अर्खाबाङ बजार व्यावस्थापन समिति अध्यक्ष बसन्त अर्यालले बताए ।
गुल्मीको मालिका गाउँपालिका ८ मरभुङकी कमला अर्यालले गाउँमा प्याराग्लाइडिङ्ग हुने कल्पना पनि गरेकी थिइनन् । तर, साढे दुई हजार मिटरको उचाइबाट प्याराग्लाइडिङ्ग गरिन् । अर्याललाई उडेर आकाशबाट आफ्नो गाउँ देख्दा रमालो नलाग्ने कुरै भएन् । ‘सुरुमा मलाई पनि डर लाग्यो । जब उडियो मज्जाले गाउँ घुमियो,’ अर्यालले भनिन,‘अवसर र हिम्मत ठुलो कुरा रहेछ ।’ गाउँपालिका उपप्रमुख देवा अर्यालले पनि प्याराग्लाइडिङ्ग गरिन् । उनले आफुलाई पनि मनोरञ्जन र अरुलाई पनि उत्साह दिन प्याराग्लाइडिङ्ग गरेको बताइन् ।
यो ठाउँ उडानका दृष्टिकोणले अत्यन्तै राम्रो मानिएको छ । गत मंसिर अन्तिम साता स्काई लाइन प्याराग्लाइडिङ्ग पोखराको टोली मार्फत मालिका गाउँपालिका ४ को देउरालीबाट प्याराग्लाइडिङ्गको सफल परिक्षण गरेको थियो । स्काई लाइन प्याराग्लाइडिङ्ग पोखराका संचालक तथा पाइलट भुवन गाहाले मालिका पोखराको विकल्प बन्न सक्ने बताए । पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएकाले देउराली संराङकोटभन्दा राम्रो भएको गाहाले दावी गरे ।
उनले नेपालमा आफुले परिक्षण गरेका स्थानहरु मध्ये व्यावसायीक उडानका दृष्टिले महत्वपूर्ण मालिका भएको बताए । बाह्य पर्यटकले लामो दुरीमा प्याराग्लाइडिङ्ग गर्न मन पराउने भएकाले गाउँपालिकाले व्यावसायीहरुसंग सल्लाह गरेर निरन्तरता दिन उनले जोड दिए । ‘अहिले लामो दुरीको लागि खर्च बढि पर्छ । तत्काल छोटो दुरीको प्याराग्लाइडिङ्ग गरौ,’गाहाले भने,‘पर्यटकको आकर्षण बढ्दै गएपछि लामो उडान गर्नुपर्छ ।’ उनले पछिल्लो पुस्ताले रुचाएको शाहसीक खेल भएकाले प्याराग्लाइडिङ्गको लागि पुर्वाधार निर्माणसहित होमस्टे संचालनमा जोड दिए ।
मालिका गाउँपालिका बिकटलाई निकट बनाउने दौडमा छ । जिल्लाको पश्चिम क्षेत्र भौगोलिक दृष्टिकोणले विकट छन् । तर, पर्यटनका प्रचुर संभावनाहरु पनि उत्तिकै छन् । त्यो मध्ये प्याराग्लाइडिङ्ग एक हो । मालिका गाउँपालिकाले पहिलो गाउँ सभामै प्याराग्लाइडिङ्गको संभाव्यता अध्ययन गर्ने योजना अगाडी सारेको हो । तर, कार्यपालिका भित्रैका सदस्यहरुको अनेक सोचका कारण २ बर्षपछि मात्रै गत मंसिर १७ गते परिक्षण उडान गरिएको मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
उनले गाउँपालिकाले व्यावसायको क्षेत्र पहिचान मात्रै गरेकाले प्याराग्लाइडिङ्ग व्यावसाय संचालन गर्न आउनेहरु सस्था वा कम्पनीलाई आफुहरुले स्वागत र सहकार्य गर्ने बताए । गुल्मी पश्चिमका अग्ला पहाडहरु प्याराग्लाइडिङ्गका लागि बाह्रै महिना उपयुक्र्त छन् । धेरै अग्ला भएकाले उडेर धेरै ठाउँमा पुग्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा प्याराग्लाइडिङ्ग पर्न सक्छ । पश्चिम गुल्मीका स्थानीयतहबिच समन्वय गरेर नियमित प्याराग्लाइडिङ्ग थप योजना बनाइने प्रवक्ता गिरीले बताए ।
मालिका गाउँपालिका प्रमुख रित बहादुर थापाले संभाव्यता अध्ययनसहित १५ दिन महोत्सव मार्फत व्यावसायीक प्याराग्लाइडिङ्ग भएकाले अब भौतिक पुर्वाधार निर्माणमा जोड दिने बताए । ‘अब निजी क्षेत्रलाई लगानी गर्न कुनै समस्या छैन । पुर्वाधार निर्माणमा तीन तहका सरकारबिच समन्वय गर्छौ,’थापाले भने,‘ढुक्क भएर हामीसंग आउनुस् ।’ मदाने र मालिकाका अधिकांश गाउँ सालझण्डी–ढोरपाटन सडकखण्डमा पर्दछन् ।
थापाले सालझण्डी–ढोरपाटन सडकखण्डको नजिक र गुल्मीसहित अर्घाखाँची, बाग्लुङ र प्युठानका महत्वपूर्ण ठाउँमा उडान गर्न सकिने भएकाले सवैको पहलमा मालिकालाई प्याराग्लाइडिङ्ग हब बनाउनुपर्नेमा जोड दिए ।