बुटवल- गुल्मेली सम्पर्क समाज रुपन्देहीको अगुवाईमा रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ डिङ्गरनगरमा स्थापित श्रृङ्गेश्वर धामको चौथो साधारण सभा तथा दोस्रो अबिधेशन सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आकर्षक धार्मिक पर्यटन क्षेत्रको रुपमा स्थापित श्रृङ्गेश्वर धाममा अब ब्यवस्थित परिचालन र दीगो ब्यवस्थापनको जरुरी रहेको बताए। रमणिय क्षेत्रको रुपमा विकसित हुंदै गैरहेको तिलोत्तमा नगरपालिकामा ग्रीनरी सहितको तिनाउ करिडोर निर्माण संगै धामको महत्व अझ बढेर जाने भन्दै नगर प्रमुख घिमिरेले धामको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गरिहने प्रतिवद्धता जनाए। तिनाउ नदीको दुबै किनारमा २५ मिटर सडक निर्माणका लागि बजेटको सुनिश्चितता भैसकेको समेत उनले बताए।
धामका सल्लाहाकार टिकाराम घिमिरेले रुपन्देहीका १५ आकर्षक धार्मिक पर्यटकीय क्षेत्र मध्ये श्रृङ्गेश्वर धाम पनि एक रहेको वताउदै धाम सबैले अपनत्व गर्ने ठाउंको रुपमा विकसित भएको बताए। धामका संचालकहरुले पारदर्शी, मितब्ययी र आर्थिक अनुशासनमा रहेर काम गरेकाले दाताहरुले निरन्तर सहयोग गरिरहेको उल्लेख गरे।
पूर्व प्रशासक बालकृष्ण पन्थीले मानिसले समाज र राष्ट्रका लागि गरेको योगदान सधै र सबैका लागि हुने भन्दै धाममा आउंदा पवित्र धार्मिक स्थलमा पुगेको अनुभूति भएको भन्दै आफुले पनि धामको विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।
गुल्मेली सम्पर्क समाजका अध्यक्ष एबं धामका प्रमुख संरक्षक ई. हिराबहादुर भलामीले धाममा भएको तिब्र विकास र दाताहरुको सहयोगमा निर्माण भएका मठ मन्दिर तथा अन्य संरचनाले धामको महत्वलाई बढाएको बताए।
धामका अध्यक्ष ऋषि भण्डारीले तिलोत्तमा नगरपालिको सुन्दर गहनाको रुपमा रहेको धामलाई नमुना धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी देशभर प्रचार प्रसार गरेर बाहिरी जिल्लाबाट रुपन्देही आउने नागरिकलाई यस धामको भ्रमण गराउने लक्ष सहित काम भैरहेको जानकारी दिए।
साधारण सभामा धाम परिसरमा निर्माण भएको जेष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष खेमराज पुन, बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष नरिश्वर पौडेल, डिङ्गर माता माई टोल विकास संस्थाका अध्यक्ष कोषबहादुर बस्नेत, धामका उपाध्यक्ष यदुनाथ पाण्डे, सचिव केशबराज पोख्रेल, कोषाध्यक्ष गणेश प्रसाद न्यौपानेलगायतले शुभकामना ब्यक्त गरेका थिए।
सोही अवसरमा धामका सल्लाहाकार पशुपति घिमिरेलाई जन्मोत्सवको शुभकामना ब्यक्त गरिएको थियो भने धामका संस्थापक मोतिलाल भण्डारीले जेष्ठ नागरिक मिलन केन्द्रको अक्षय कोषका लागि दुई लाख प्रदान गरेका थिए।