बाँके– बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी नखाने व्यक्तिलाई स्थानीय तहबाट कुनै पनि सुविधा नदिने रणनीति बनाइएको छ ।
जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तवले हात्तीपाइले रोगविरुद्धको औषधी नखाने व्यक्तिलाई पालिकाबाट कुनै पनि सेवा सुविधा नदिने प्रस्तव गर्नु भएको हो ।
यो प्रस्तावलाई आगामी बैठकबाट पारित नै गर्ने संयोजक श्रीवास्तवले बताए । जिल्ला समन्वय समितिले हात्तीपाइलेका रोगीलाई एक प्रतिशत भन्दा तल झार्ने पालिकालाई २५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।
‘गतवर्ष पनि मैले यो घोषणा गरेको थिए । कुनै पनि पालिकाले एक प्रतिशत भन्दा तल झार्न सकेनन्, यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको छु’, संयोजक श्रीवास्तवले भने, ‘रोगीको संख्या एक प्रतिशत भन्दा तल झार्नुस्, २५ लाख रुपैयाँ लैजानुस् ।’
बाँकेमा दशौं चरणमा अभियान आइपुग्दा औषधी नै नखाइदिएकाले आशातित सफलता मिल्न सकेको छैन । जति सम्झाएपनि औषधी नखाइदिएपछि दवाव नै दिएर औषधी खुवाउने रणनीति अघि सारिएको छ ।