बुटवल-बुटवलमा एकै दिन झण्डै सात हजार जनालाई दादुरा–रुबेला खोप तथा पोलियो थोपा खुवाइएको छ। विभिन्न आठ वटा केन्द्रहरुमा गरी यो संख्यामा खोप र पोलियो थोपा खुवाइएको बुटवल उपमहानगरपालिकाका शिक्षा, स्वास्थ्य तथा जनशंख्या महाशाखाले जनाएको छ।
तीन हजार सात सय जनालाई दादुरारुवेला र तीन हजार आठ सय जनालाई पोलियो थोपा खुवाइएको छ। बुटवलका प्रमुख शिवराज सुवेदीले बुटवल वडा नं. ११ देवीनगरस्थित नवीन माविमा रहेको केन्द्रमा खोपको सामग्री हस्तान्तरण गर्दै सेवाको शुरु गरेका थिए।
बालबालिकालाई स्वास्थ्यकर्मीहरुसंगै प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा तथा शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले पोलियो विरुद्धको औषधि खुवाएका थिए।
बुटवलमा सुरु भएको यो अभियानमा ४० जना तालिमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन्। उनीहरुसंगै ३० जना स्वास्थ्य स्वयमसेविका र टोलविकास संस्थाका सदस्यहरुले सहकार्य गरेको स्वास्थ्य शाखाकी कर्मचारी गीता पाण्डेयले बताइन्।
रुपन्देहीमा तीन चरणमा एक लाख नौ हजार ७९९ बालबालिकालाई दादुरा–रुबेला र एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ। फागुन १ देखि ९ गतेसम्म ७ पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८१४ खोपकेन्द्रमा पोलियो थोपा तथा खोप लगाइने बताइएको छ। त्यसका लागि ९२८ कर्मचारी र एक हजार ६२८ स्वयंसेवक परिचालन भएको स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए।