सन्धिखर्क- अर्घाखाँची जिल्ला अदालतको आयोजनामा सन्धिखर्कमा न्यायिक बाह्य पहुँच कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाभित्र रहेका १२ वटै वडाका सहभागीलाई प्रशिक्षण दिँदै जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले अदालतबाट हुने सेवा प्रवाह र मुद्दाका बारेमा जानकारी गराए। उनले अदालतबाट छिटो न्याय दिनका लागि कार्यालयले कुनै पनि कसर बाँकी नराखेको बताए।
जनतासँग न्यायाधीश कार्यक्रमअन्तर्गत न्यायाधिश न्यौपानेले फरक मुद्दा व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए। सन्धिखर्क नगरपालिका–१ का कार्यवाहक अध्यक्ष आशा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रेस्तेदार महेश खनाल, कानून व्यवसायी पवित्रा भट्टराई, जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेलगायतले मन्तव्य राखेका थिए। रासस