म्याग्दी : बेनी नगरपालिका–७ कुरिलाखर्कमा दुई महिलाले बाँझो जमिनमा नर्सरी स्थापना गरेका छन् । मालिका गाउँपालिका–६ दरवाङकी सिता गुरुङ र रघुगंगा गाउँपालिका–६ पाखापानीकी तेजकुमारी पुनले बाँझो जमिनलाई हराभरा बनाएका हुन् ।
वार्षिक रु एक लाख पचास हजार भाडा तिरेर नौ रोपनी बाँझो जग्गा भाडामा लिएर उनीहरुले नर्सरी स्थापना गरेका हुन् । पाखो जग्गालाई स्काभेटरले सम्माइ खनजोत गरी नर्सरी बनाएका हुन् । गत हिउँददेखि शुरुआत भएको रुबिना एण्ड दीक्षा नर्सरीमा अहिले बर्खा यामका लागि फलफुलका बिरुवा उत्पादन भएका छन् । खाली र बाँझो पाखोमा नर्सरी स्थापना भएपछि हराभरा र हरियाली बनेको छ ।
नर्सरी बनाउन लागि रु २२ लाख लगानी भएको सञ्चालक गुरुङले बताइन् । “बीउ, सामग्री खरिद, घेराबार, टनेल लगायतका संरचना निर्माण गरेका छौ,” उनले भनिन् । “४५ हजार टिम्मुर, दुई हजार १०० सुन कागति, छ हजार दाँते ओखरका विरुवा उत्पादन भएको छ ।”
सेमि हाइटेक प्रबिधीको पलास्टिक घरमा विभिन्न प्रजातिका फुलका विरुवा तयार पारिएको छ । बर्षात हुन थालेपछि उत्पादित बिरुवा बिक्री सुरु गरेको नर्सरीकी अर्की सञ्चालक पुनले बताइन् । जिल्ला दर रेट अनुसार टिम्मुरको विरुवा प्रतिगोटा ५७ र दाँते ओखरका विरुवाको प्रतिगोटा ११५ रुपैयाँ मुल्य निर्धारण भएको छ ।
उनिहरु सामुदायिक वन उपभोक्ता महासंघका अभियान्तका रुपमा जिल्लामा परिचित छन् । वन र वातावरण क्षेत्रमा काम गरेको अनुभवलाई व्यवसायमा रुपान्तरण गरेको उनिहरुले जानकारी दिए ।
नर्सरीलाई कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा साना ब्यवसायिक कृषि फर्म स्थापना तथा बिस्तार कार्यक्रम अन्र्तगत एक लाख १५ हजार रुपैया अनुदान उपलब्ध गराएको थियो । दुई सेमि हाइटेक प्रबिधीको पलास्टिक घर बनाएका छन् । गत हिउँद याममा प्याजका बिरुवा उत्पादन गरेका थिए ।
म्याग्दी र आसपासका क्षेत्रका कृषकलाई आवश्यक पर्ने तरकारी, फलफूल तथा बनस्पतिका बिरुवा आपुर्ति गर्ने उद्देश्यले नर्सरी सञ्चालन गरेको उनिहरुले जानकारी दिए । पछिल्लो समय यहाँका कृषक नर्सरी ब्यवसायतर्फ आकर्षित भएका छन् । रासस