भैरहवा - रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले भैरहवामा संचालन गरेको फूड बैंक मार्फतको राहत वितरण स्थगित गरेको छ ।
स्थानीय प्रशासनले असार १ गते देखि आर्थिक चलायमानका लागि निषेधाज्ञामा केही खुकुलो गरेसँगै सोमबार थप ३१ परिवारलाई राहत वितरण गर्दै क्लबले जारी कार्यक्रम स्थगित गरेको हो ।
कोरोना भाइरसको संक्रमणका कारण स्थानीय प्रशासनले बैशाख १६ गते देखि निषेधाज्ञा जारी गरेको थियो, निषेधाज्ञाबाट हात मुख जोर्न प्रभावित भएका विपन्न परिवारलाई मध्यनजर गर्दै क्लबले वैशाख २७ गते देखि भैरहवास्थित प्रहरी टोलमा फूड बैंक’ सञ्चालनमा ल्याएको थियो ।
क्लबले लगातार ३६ दिनमा ६३२ घर परिवार लाई राहत (रासन)वितरण गरेको छ, ‘हामीसँग अझै पनि खाद्यान्न छन तर निषेधाज्ञामा केही खुकुलो भई करिब ७० प्रतिशत पसलहरु खुल्ने भएकोले आर्थिक चलायमान हुने भएकोले हाललाई यो अभियान स्थागित गरेका हौं।’ क्लबका वर्ष २०२०÷०२१ का अध्यक्ष हिरा बहादुर शाहले भने ।
क्लबले विशेष गरी दैनिक ज्यालादारी गरेर बिहान सांझको छाक टार्ने विपन्न परिवार तथा मजदूरलाई फूड बैंकमार्फत ६ जना सदस्य रहेको परिवारलाई १५ दिन सम्म खान मिल्ने गरी खाद्यान्न सामग्री निःशुल्क उपलब्ध गराइरहेको क्लबका संस्थापक अध्यक्ष विमल सेञ्चुरीले बताए । संस्थाले फुड बैंकलाई स्थागित गरेपनि आवश्यकता अनुसार पुनः संचालन गर्न सकिने, यसमा क्लब पछि नपर्ने उनको भनाइ छ ।
क्लबले चामल, दाल, तेल, सोयाबीन, नुन र चिउरा लगायतका खाद्य बस्तु र मास्क उपलब्ध गरारहेको थियो । हाल सम्म ६३२ परिवारलाई करिब १० लाख मूल्य बराबरको खाद्यान्न सहयोग भएको क्लबका सदस्य धर्मविर शर्माले भने । क्लबले सिद्धार्थनगर, ओमसतिया, सियारी, मायादेवी लगायतका पालिक भित्रका परिवारलाई राहत वितरण गरेको थियो।