भैरहवा - लायन्स क्लब अफ भैरहवा बोहिमियन्सले सात महिना सम्म अप्रेशन गराउन नसकेका एक युवाको अप्रेशन गराएको छ । युवाहरुकै समूह रहेको क्लबले अर्थिक अवस्था कमजोर रहेका ओमसतिया–४, बालापुरका अरबाज अन्सारीको मंगलबार बिहान हातको अप्रेशन गराएको हो ।
सात महिना अगाडि घर जाने क्रममा साइकलबाट लडेर अन्सारीको हातमा चोट लागेको थियो । चेकजाच गाराउँदा हात नै भाचिएको र छिटै अप्रेशन गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिए । जसोतसो हातमुख जोडिरहेका उनको परिवारको आयस्रोत भने न्युन छ, । त्यसमाथि निषेधाज्ञाले पनि उनीहरुको परिवार चलाउन सकस नै थियो । यही समयमा छोराको हात भाचिएर अप्रेशन गर्नुपर्ने जसको खर्च करिब ढेड लाख आउने अनुमान चिकित्सकले परिवारलाई सुनाए ।
हातमुख जोड्न हम्मे हम्मे परेको परिवारलाई पैसाको अभावमै छोरोको हातको अप्रेशन गर्नु ठूलो कुरा थियो । दाता र मनकारीहरुको पखाईमा रहेको अन्सारीको सात महिना बित्दा पनि अप्रेशन हुन नसकेको कुरा लायन्स क्लब अफ भैरहवा बोहिमियन्सले थाहा पायो ।
जसरी भएपनि अन्सारीको अप्रेशन गर्नुपर्छ भनेर संस्थापक अध्यक्ष कृतेशकुमार श्रेष्ठले लिएर छिटो भन्दा छिटो अप्रेशन गर्नुपर्ने काममा लागे । श्रेष्ठको अग्रसरता र क्लबका सदस्य आशिष पन्थीको संयोजकत्व रकम संकलन गरी सोमबार अन्सारी परिवारलाई एक लाख सहयोग गरेको छ ।
क्लबले बुटवल स्थित लुम्बिनी सिटि हस्पिटलका चिकित्सक राहुल श्रेष्ठसंग समन्वय गरी अन्सारीको अप्रेशनका लागि पहल समेत गरेको छ । करिब डेढ लाख लाग्ने खर्च अस्पतालले न्युनतम लागत मुल्यमामात्रै अप्रेशन गर्ने गरी मंगलबार विहान १० बजे अप्रेशन भएको छ । ७०–८० हजार अपरेसन खर्च र २० हजार सम्म औषधी खर्चअनुमान सहित परिवारलाई एक लाखको चेक हस्तान्तरण गरेको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
अस्पतालका चिकित्सक श्रेष्ठसंग परामर्श गरेर क्लबको अग्रसरतामा नै अन्सारीको अप्रेशन भएको छ, एक घण्टा लगाएर भएको अप्रेशन पश्चात अन्सारीको अवस्था सामान्य रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।