काठमाडौँ – सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ। शुक्रबार मन्त्रिपरिषद्ले निशान छाप संशोधन गर्ने निर्णय गरेको केही घण्टामै प्रतिनिधिसभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको हो।
लिम्पियाधुरा, लिपुलेख र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानको अनुसूची–३ मा निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने प्रस्ताव दर्ता गरेका हो।
सरकारले बुधबार लिम्पियाधुरा, कुटी, गुञ्जी, नावी, लिपुलेख र कालापानीसहितका भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो। २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान संशोधन गर्ने यो तेस्रो प्रस्ताव हो।