बुटवल । नेकपा एमालेले कारवाही गरेका लुम्बिनी प्रदेशका सांसद अजय शाहीले आफू स्वतन्त्र सांसदका रुपमा निर्वाचित भएकाले पार्टीले कारवाही गर्नु औचित्यहीन भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लबमा शनिबार भएको कार्यक्रममा उनले सांसद शाहीले चुनावमा एमाले र स्वतन्त्र नागरिक समूह बीच भएको सम्झौता अनुसार सुर्यचिन्ह लिएर चुनाव जितेपनि आफू स्वतन्त्र रुपले क्रियाशील हुन पाउने भएकाले कारवाहीको औचित्य नरहेको बताएका हुन् ।
उनले वितरण गरेको विज्ञप्तीमा भनेका छन्-"२०७४ साल असोज १६ गते तत्कालीन नेकपा एमाले र स्वतन्त्र राजनीतिक समूहबीच भएको सम्झौता तथा राष्ट्रिय सभाको निर्वाचनमा सूर्य चिन्ह लिएर सहभागी हुने र स्वतन्त्र पहिचानका साथ क्रियाशील हुनेछन् (भन्नेकुरा) उल्लेख भएअनुसार म हालसम्म नेकपा एमालेको सदस्यतासमेत नलिएकाले स्वतन्न रुपमै क्रियाशील रहेको सबैमा जानकारी गराउँन चाहन्छु ।"
पार्टीको ह्वीपविपरित मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै नेकपा एमालेको केन्द्रिय कमिटिले सांसदद्वय अजय शाही र विमला वलीलाई कारवाही गरेको थियो । एमालेले कारवाही गरेको सूचना प्रदेश सभा सचिवालयलाई बुझाइसकेको छ । तर, सचिवालयले कारवाही गरेको सूचना टाँस गरेको छैन ।
सचिवालयले सूचना टाँस गरी सांसद्वयलाई पदमुक्त नगर्दासम्म प्रतिपक्ष एमालेले संसद बैठक चल्न नदिने अडान राखेपछि निरन्तर तीन वटा प्रदेश सभा बैठक अवरुद्ध भएका छन् ।
यसैबीच शाहीले विज्ञप्ती जारी गर्दृै स्वतन्त्र सांसदसँग 'स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्कासन गर्न कारवाही प्रक्रिया अघि बढाएको भन्ने कुराको कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको सबैमा जानकारी' गराएका हुन् ।
उनले भनेका छन्-'प्रदेश सभा नियमावलीको अनुसूची-६ अनुसार प्रदेश सभामा बुझाएको विवरण अनुसार मेरो नाम स्वतन्त्र राजनीतिक समूहको रुपमा पेश गरिएको सबैलाई वानकारी छ । राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार म नेकपा(एमाले) संसदीय दलको सदस्य नरहेको स्पष्ट पार्न चाहन्छु ।'
साथै उनले बिनाकारण एमालेले गैरकानूनी र गैरराजनीतिक रुपमा प्रतिशोधको भावना राखेर कारवाही प्रक्रिया अगाडि बढाई राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरेमा 'अदालतको ढोकासम्म पुग्ने' चेतावनी दिएका छन् ।
