बुटवल-नेकपा एमाले लुम्बिनीले सभामुख पूर्णबहादुर घर्तीको भूमिकामा प्रश्न उठाएको छ।
एमालेले कारबाही गरेका दुई सांसद अजय शाही र विमला वली खत्रीलाई पदमुक्त गर्न सभामुखलाई पत्र बुझाएपनि पदमुक्त गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति जनाएको हो।
एमालेले पत्रकार सम्मेलन गरी सभामुखले आफ्नो क्षेत्रअधिकारभित्र नपर्ने विषयमा चासो दिएको बताएको हो।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले सभामुखको भूमिका पदीय आचरणभन्दा बाहिर गएर न्यायाधीशजसरी भूमिका निर्वाह गरेको बताए।
‘सभामुखको पद र मर्यादा अनुकूलको आचरण नभई पार्टीको कार्यकर्ता जस्तो एकपक्षीय व्यवहार गरी संसदीय व्यवस्थाको मूल्य मान्यता प्रतिकूल कार्य गरेका छन्,’ एमालेले भनेको छ।
शाही र घर्तीलाई पार्टीबाट निष्काशन गरेको जानकारी तथा सो कार्यान्वयनका लागि अनुरोध गरेर पत्र पठाइए पनि सभामुखले स्वेच्छाचारी निर्णय गरेको एमालेको आरोप छ।
‘सभामुखले कार्यक्षेत्र नाघेर निर्णय गर्नु कुनै संसदीय व्यवस्था अवलम्बन गरेका मुलुकले हालसम्म नअपनाएको निरंकुशतावादी चरित्र हो भन्ने हामीलाई लागेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ प्रचलित कानून, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकोले स्वतः पद अनुकूलको आचरण नगरेको प्रष्ट हुन्छ र नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन।’
यस्तै एमालेले जबसम्म विमला वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट निष्काशन नगर्दासम्म संसद् अवरुद्ध गर्ने आन्दोलन जारी रहेको जनाएको छ।

.jpg)
.jpg)