बुटवल - नेकपा एमालेले आफ्नो पार्टीले कारवाही गरेका २ जना सांसद पदमुक्त भएको सुचना नदिँदासम्म लुम्बिनी प्रदेश सभा चल्न नदिने बताएको छ । सोमबार सभामुख पूर्णबहादुर घर्तिलाई भेटेर माग पुरा नभएसम्म प्रदेश सभा बैठक चल्न नदिने माग दो¥याएको हो।
एमाले लुम्बिनीका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पठाएको पत्रको प्रतिक्रिया स्वरुप फेरी अर्को पत्र बुझाएको बताए । 'सभामुखले पठाएको पत्र आचरण विपरित छ भनेर ध्यानाकर्षण गराउन फेरी पत्र बुझाएका हौं।' उनले भने 'दुइ जना प्रदेश सभा सदस्यलाई कारवाही गर्नुपर्ने हाम्रो अडान यथावत छ।'
यस अघि भदौ १ गते एमालेले सभामुखलाई पत्र बुझाउँदै प्रदेश सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारवाही गरिएको सुचना दिन माग गरेको थियो। सभामुखले भने कारवाही गर्न नमिल्ने जवाफ फर्काएका थिए। सभामुखको प्रतिक्रियापछि एमालेले दोस्रो पत्र बुझाएको हो ।
भदौ १ नवौं अधिवेसन सुरु भएपछि लगातार २ वटा बैठक एमालेले अवरुद्ध गरेको थियो । ३ गते तय भएको बैठक भने आजसम्मको लागि सूचना टाँस गरेर स्थगित भएको थियो ।