बुटवल- लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन्। यसअघि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वकाे सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई समीक्षा गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको उनको भनाइ छ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनीले बुटवलमा गरेको साक्षात्कारमा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता समेत रहेका खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताए । मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस भन्ने उद्धेश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो।
मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको समेत दाबी गरे। कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने र थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने उनको भनाई छ।
सहकार्य, सहमतिबाट बजेट ल्याउ भन्दाभन्दै पनि पूर्ववर्ती सरकारले बलजफत गरि ल्याएको अध्यादेश र अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएका मन्त्री खड्काले बताए । अघिल्लो सरकारले संघियता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै आफूहरुले आवश्यक नीति नियमहरु बनाएर अगाडी बढ्ने उनको भनाई थियो । उनले संघीय सरकारका आयोजनाहरुलाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने बताए।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवि नेपालले सरकारले पुजिगत खर्चमा जोड दिनुपर्ने बताए । उनले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउनु पर्ने बताए। नेपालले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्ने उनको भनाइ छ।
मुलुकको अर्थतन्त्र अगाडी बढाउन तिनाउ डाईभर्सन राम्रो विकल्प रहेको नेपालको भनाई छ। उनले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुंङ मार्गको कामलाई छिटोभन्दा छिटोअगाडी बढाउन सुझाव दिए।
बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५–७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले समाधानतर्फ गम्भीर रुपमा चासो नदिएको दुखेसो पोखे। उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने बताउँदै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने बताए।
मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउने पूर्व गभर्नर नेपालको भनाइ छ। कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो।