काठमाडौं- नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।
यस्तै असोज ५ र ६ गते विधान महाधिवेशन समेत गर्ने एमालेको बैठकको निर्णय छ।
नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै तह तथा कमिटीहरूलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउने निर्णय गरेको छ।
'१० बुँदे सहमतिको प्रस्ताव कार्यान्वयन गर्न पार्टीका सबै तह र पदाधिकारी सबै निकायलाई जेठ २ कै अवस्थामा फर्काउने निर्णय भएको छ,' प्रवक्ता ज्ञवालीले भने।
बैठकमा यसअघि माधव कुमार नेपाललाई साथ दिँदै आएका १० जना स्थायी कमिटी सदस्य पनि सहभागी थिए। बैठकले केन्द्रीय निकाय र विभागलाई पूर्णता दिनका लागि सुझाव दिन कार्यदलसमेत गठन गरेको छ। कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र लेखराज भट्ट छन्।