काठमाडौँ - नयाँ दल दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपालसहितका नेताहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन्। एमालेबाट विभाजित भएर नेकपा समाजवादी दल दर्ता प्रक्रिया टुंग्याउन उनीहरु आयोग पुगेका हुन्। दल दर्ताको लागि माधव नेपाल पक्षले केही दिन अघि निर्वाचन अयोगमा निवेदन दिएको थियो ।
अहिले माधव नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्यहरुको सनाखत भइरहेको छ। सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा बैठक गरेका उनीहरू त्यहाँबाट सीधै आयोगको कार्यालय पुगेका हुन्। नागरिकता वा मतदाता परिचय पत्रसहित केन्द्रीय सदस्य र सांसदलाई भने संसद परिचय पत्रसहित उपस्थित भएका छन्।
यसैगरी महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका आवेदनकर्ताहरू पनि सनाखतका लागि आयोगमा उपस्थिति भएका छन् । ठाकुर नेतृत्वको पार्टीले ३० सदस्यीय कार्यसमिति प्रस्ताव गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।