नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं-नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।
क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृती लिएर एक-दुई दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ ।
क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ-नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।
यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिए।
यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ-नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।
यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
कांग्रेसमा प्रतिनिधित्वको अनुसूचीअनुसार वडा र क्षेत्रमा एक-एक जना थप्न सिफारिस
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महिला, दलित, आदिवासी, खसआर्य, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक वा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था गर्न सिफारिस गरिएको छ ।
उल्लिखित समूहमध्ये केन्द्रबाट पठाइएको सूचीमा हालको व्यवस्थाअनुसार पालिका वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था आएमा भएमा सो वडामा सो समूहबाट नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप गर्न व्यवस्था गर्न सिफारिस गरिएको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका हुन् ।
'२०७८ साउन ३० को कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रतिनिधित्वको अनुसूची समितिको बैठकमा प्राप्त सुझावलाई ध्यानमा राखी यो प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइनेछ', विज्ञप्तिमा भनिएको छ ।
यस्तै, कांग्रेस केन्द्रीय सदस्य एवं नेपाल दलित संघका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले बुधबार पार्टीको १४औं महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।