बुटवल-नेकपा एमाले विभाजनको असर लुम्बिनीमा कम देखिएको छ। कम्युनिष्टले आफ्नो आधार इलाका मान्ने लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा एमालेकै दबदबा देखिएको छ।
केन्द्रीय तहका नेताहरु एमालेमै रहेका कारण उनीहरुको प्रभाव रहेका जिल्लाहरुमा कार्यकर्ताहरु विभाजनपछि खुलेको नेकपा एकीकृत समाजवादी रोज्न चाहेको देखिएका छैनन्।
३७ सांसद रहेको लुम्बिनीमा शुक्रबारसम्म १ जना सांसदले मात्रै एकीकृत समाजवादी रोजेकी छिन् भने अरु सबै एमालेमै छन्।
लुम्बिनी प्रदेशमा एमाले अध्यक्ष केपीका सारथी प्रभावशाली नेताहरू रुपन्देहीका विष्णु पौडेल, दाङका शंकर पोखरेल, गुल्मीका प्रदीप ज्ञवाली र पाल्पाका दलबहादुर राना हुन्।
त्यस्तै माधव नेपाललाई लामो समय साथ दिएका रुपन्देहीका घनश्याम भुसाल, दाङका युवराज ज्ञवाली, गुल्मीका गोकर्ण विष्ट, पाल्पाका सोमप्रसाद पाण्डे, कपिलवस्तुका वेदुराम भुसाल हुन्।
नेपाल पक्षमा रहँदै आएका बेदुरामबाहेक अरू कोही पनि एमाले समाजवादीको पक्षमा लागेका छैनन्।
रुपन्देहीमा एमालेको दबदबा छ। केन्द्रीय तहका नेता विष्णु पौडेल र घनश्याम भुसालको बढी प्रभाव रहेको रुपन्देहीमा समाजवादीको समिति तयार भएपनि कार्यकर्ताको खास 'चार्म' देखिएको छैन।
विभाजन अगाडि समानान्तर जिल्ला कमिटी बनाएका माधव नेपालनिकट जिल्ला अध्यक्ष राजु गुरूङकै नेतृत्वमा समाजवादीको जिल्ला कमिटि बनेको छ। उनले कुन नेता कता लागे, किन र केका लागि लागे त्यसले अर्थ नराख्ने बताउँदै समाजवादीको संगठन बलियो बन्दै जाने बताए।
एमाले दाङ जिल्ला अध्यक्ष टीकाराम खड्काले आफू अहिलेसम्म एमालेमै रहेको स्पष्ट पारे। उनले विगत लामो समयदेखि नेपाललाई साथ दिएका थिए।
दाङमा विभाजन अगाडि नेपाल पक्ष बलियो थियो। गुल्मीमा पनि एमाले कार्यकर्ता सूर्य चिह्नकै पक्षमा देखिएको जिल्ला नेताहरू बताउँछन्।
‘हाम्रो चाहना जिल्लाका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट एउटै पार्टी र एउटै चुनाव चिह्नबाट चुनाव लडून् भन्ने छ,’ विष्ट निकट कार्यकर्ताले भने।
रुपन्देहीका एमाले नेता तेजेन्द्र केसीले जिल्लाका समाजवादी पार्टीमा एकदमै न्यून मानिस मात्र देखिएको बताए। उनले भने, ‘सूर्य चुनाव चिह्न छाडेर कार्यकर्ता अन्यत्र लाग्दैनन्। विभाजनको आवाज नै छैन जिल्लामा । एक दुईजना यताउता लागेर पार्टीमा त्यति ठूलो असर पुग्दैन।’
लुम्बिनी प्रदेश सभामा माधव नेपालमा खुलेका दुई सांसदमध्येकी रमा घर्तीले समाजवादी रोजेकी छिन्। तर कपिलवस्तुका सांसद विष्णु पन्थी एमालेमै छन्। ‘म पार्टी विभाजनको पक्षमा छैन,’ उनले भने।