बुटवल-नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटिको बैठक बुटवलमा जारी छ। एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकमा एमाले स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्नका लागि तयारी गरिरहेको छ।
१५ असारमा एमाले स्थायी कमिटि बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो।
सोही निर्णय जिल्लास्तरमा समेत कार्यान्वयनमा लैजाने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक नेताले बताए।
यसो गर्दा २०७५ जेठ २ अघि जो जिल्ला अध्यक्ष र पदाधिकारी थिए उनीहरु नै पुन: स्थापित हुनेछन्।
बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटि बनाउनेबारे पनि छलफल चलिरहेको छ। प्रदेश कमिटिमा स्वत: सदस्य हुने जिल्ला अध्यक्षहरु राखेर केन्द्रलाई अध्यक्ष तोक्ने अधिकार दिने या बैठकबाटै टुंगो लगाउने भन्नेबारेमा छलफल चलिरहेको ती नेताले बताए।
बैठकका निर्णयहरुबारे भोलि बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने एमालेले जनाएको छ।