भैरहवा । रुपन्देहीबाट २६ जनाले नयाँ दर्ता भएको दलको पक्षमा सनाखत गरेका छन् । सरकारले राजनैतिक दल फुटाउने सम्बन्धि ल्याएको अध्यादेशपछि नेकपा एमालेका ७ जना र जनता समाजवादी पार्टीका १९ जना जनप्रतिनिधिहरुले नयाँ दलको पक्षमा जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखतका लागि हस्ताक्षर गरेका हुन् ।
निर्वाचन आयोगले नयाँ दर्ता भएको दल रोज्नका लागि मंगलबार साझ सम्म समयसिमा दिएको थियो, सो अवधिमा जिल्ला निर्वाचन कार्यालय रुपन्देही पुगेर एक जिल्ला समन्वय समिति सदस्य सहित २६ जनाले सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।
सनाखत गर्नेहरुमा नेकपा एमालेबाट नेकपा एकीकृत समाजवादीमा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्ले, बुटवल उपमहानगरपालिका वडा सदस्य गोपाल नेपाल, सुनिल शाक्य, चीन बहादुर गुरुङ, तिलोत्तमा नगरपालिका वडा सदस्य यज्ञेश्वर क्षेत्री, देवदह नगरपालिकाका वडा सदस्य सिता देवी विक र सरस्वती पोखरेल रहेका छन ।
त्यस्तैे जनता समाजवादी पार्टी, नेपालबाट लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गर्नेहरुमा मर्चवारी गाँउपालिका अध्यक्ष केशबनन्द बनिया, उपाध्यक्ष सुनिता कलवार, वडा अध्यक्ष मतिवर कोहार, कार्य पालिका सदस्य राजेश हरिजन, पुनम मिश्र, सुनिता चमार, वडा सदय निशा हरिजन,जगदीश प्रसाद कुर्मी, साधु शरण यादव रहेका छन । त्यस्तै मायादेवी गाँउपालिका वडा अध्यक्ष रामनरायण थारु, जीरा देवी धोवी र वडा सदस्यहरु आरती धोवी, ढुनमुन यादव, मोहममद रजा फकिर, सुदामा लोध, इलाइची पासी सकुन्तला बनिया अग्रहरी, साविद अलि भाट, रहेका छन ।
त्यस्तै जनता समाजवादी पार्टी, नेपालमा रहेका जिल्ला समन्वय समितिका सदस्य छोटे चमार लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन ।