बुटवल-नेकपा एमाले लुम्बिनीले प्रदेशका सबै पार्टी कमिटीलाई २०७५ जेठ २ गते अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ।
पार्टी जिल्लाका पदाधिकारी र अरु तहका नेतृत्व समेत जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय बैठकले गरेको हो।
बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले प्रदेश कमिटीको अध्यक्षमा लिला गिरी, उपाध्यक्षमा खेममान खड्का र सचिवमा भूमिश्वर ढकाल र सहसचिवमा दुर्गा थारुलाई जिम्मेवारी दिएको छ।
यसअघि नेकपा विघटनपछि गिरी नै एमालेको प्रदेश अध्यक्ष भएपनि जेठ २ मा फर्काउने निर्णय गरेपछि उनको अध्यक्षतामा बनेको कमिटि निस्क्रिय बनेको थियो।
एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा बसेको बैठकले असार १५ को स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको एमाले नेता भूमिश्वर ढकालले जानकारी दिए।
निर्णयअनुसार प्रदेशका १२ वटै जिल्लाका सबै कमिटी जेठ २ को अवस्थामा फर्किनेछन्।
असार १५ गते एमाले स्थायी कमिटी बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो। बैठकका अरु निर्णयहरु बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने एमालेले जनाएको छ।