बुटवल-नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एकीकृत समाजवादी पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको पार्टी बन्ने बताएकी छिन्।
बुटवलमा लुम्बिनी प्रदेश कमिटिको प्रथम बैठकमा बोल्दै झाँक्रीले विद्रोह र पुनर्गठनबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्न नसक्ने बताइन्।
'आजै विद्रोह र संघर्षबाट आएको पार्टी भोलि नै ठूलो पार्टी बन्छ ?-उनले भनिन्-वस्तुगत अवस्थाले यसो भन्छ त ?, नभन्न पनि सक्छ, आज विद्रोहको प्रक्रिया शुरु भएको छ, लुम्बिनीमा भर्खर विद्रोहको सलाईको काँटी सल्किएको छ र विस्तारै यो फैलिदै जान्छ।'
उनले एकीकृत समाजवादी पार्टी बहुसंख्यक युवाहरु र सम्मान गर्न लायक अग्रजहरुको पार्टी बन्ने बताइन्।
'हामी विद्रोहबाट आएका छौं, चुनौतीहरु छन् तिनलाई चिर्दै हामी अघि बढ्ने हो, केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु उपस्थित बैठकमा उनले भनिन्-हामीलाई लुम्बिनीमा चुनौती दिनेहरुलाई हामीले अब चुनौती दिन्छौं, त्यसका लागि पार्टी बनाउन लाग्नुस् र युवा र अग्रज मिलेर यो अभियानलाई अघि बढाउँ।'
कार्यक्रममा नेताहरु विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, राजु गुरुङ लगायतले बोल्दै पार्टी अभियानलाई तीब्र रुपमा अघि बढाउने बताएका थिए।