काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ ।
प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइएपनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको अस्पताल श्रोतले जनाएको छ।
प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भने प्रधानमन्त्री नियमित उपचार प्रक्रियाका लागि भर्ना भएको उल्लेख छ ।
‘उहाँको स्वास्थ्यस्थिति सामान्य छ । सम्माननीयज्यूको आवश्यक परीक्षण पूरा भएपछि आज राति वा भोलिसम्म डिस्चार्ज गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
ओलीको सचिवालयले ओलीलाई के भएको हो भन्ने प्रष्ट बताएको छैन । ओलीको स्वास्थ्य अवस्थाबारे प्रष्ट रुपमा जानकारी नगराएको भन्दै सामाजिक सञ्जालमा ओली सचिवालयको आलोचना भइरहेको छ । नेकपा समर्थित नेता कार्यकर्ताले भने ओली सचिवालयको बचाउ गर्दै प्रधानमन्त्रीको स्वास्थ्यअवस्थालाई लिएर नकारात्मक सन्देश प्रवाह गर्न र कुभलो चिताउने खालको मनसाय राखेको भन्दै प्रतिवाद गरेका छन् ।