बुटवल–आज साउन ६ गते। नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (विपी कोइराला)को ३८औं स्मृति दिवस मनाइँदैछ। कांग्रेस र उसका भ्रातृ संगठनहरुले विपीको सम्झनामा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन्। १९७१ साल भदौ २४ गते जन्मिएका विपीको २०३६ साल साउन ६ गते निधन भएको थियो।
प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले नेपाली राजनीतिमा एउटा छुट्टै छाप छोडेका छन्। कांग्रेसले उनलाई आफ्नो आदर्श मान्दै आएको छ। तर, विश्लेषकहरु कांग्रेस विपीको सिद्धान्त र विचारबाट धेरै टाढा पुगेको बताउँछन्। विपी कोइरालाको स्मृति दिवसको अवसरमा उनी रुपन्देही आउँदाका बखतका केही सम्झनलायक घटना विवरणहरु यहाँ प्रस्तुत गरिएको छ।
नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइराला २०३६ सालको जनमत संग्रह भन्दा केही अघि रुपन्देही आएका थिए। जनमत संग्रहको प्रचारको शिलशिलामा देश दौडाहमा निस्केका विपी कोइरालाले भैरहवामा आयोजित सभामा भाषण गरेका थिए। विपी कोइराला भैरहवा विमानस्थलमा ओर्लेपछि उनलाई लिन गएकामध्ये एकजना कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति तथा तत्कालीन जिल्ला सदस्य बाबुराम राना भन्छन्–‘एयरपोर्टबाट लिएर विपीबाबुलाई हामीले सिधै मञ्चमा लिएर गयौं, उहाँले सम्बोधन गर्नुभयो, सभापछि उहाँ साँझ हितमान सुब्बाको घरमा बस्नुभयो।’
गल्लामण्डीको सभामा विपीले राजाको घाँटी र मेरो घाँटी जोडिएको छ भनेका थिए। ‘राजासँग मेरो घाँटी जोडिएको छ, म प्रजातन्त्रवादी हो, उहाँ राजतन्त्रवादी हो, नेपालमा प्रजातन्त्र र राजतन्त्र दुवै चाहिन्छ भन्नुभएको थियो’–विपीले भनेको कुरा सम्झँदै रानाले भने।
बुटवलमा पनि विपीले सम्बोधन गर्ने कार्यक्रम भएको थियो। बुटवलमा विपीको बास अमरपथस्थित अग्नीकुमार श्रेष्ठको घरमा थियो। कार्यकर्ता भेटघाटलगायत अन्य छलफलकाा कार्यक्रम पनि अग्निकुमारको घरमै भए।
‘बाहिर कार्यक्रम गर्न प्रशासनले रोक्थ्यो, घरको परिसरमै कार्यक्रम भएको थियो’–कांग्रेसका पूराना नेतामध्येका एक राधेश्याम राजभण्डारीले भन्छन्–‘बहुदललाई जसरी पनि जिताउन पर्छ भनेर विपीले भन्नुहुन्थ्यो।’
त्यसबेला आफू विपीको सुरक्षागार्ड सँगै सुत्ने गरेको राजभण्डारीले बताए। ‘विपीको सुरक्षाको नेतृत्वको जिम्मा त्रैलोक्यप्रताप सेनले लिनुभएको थियो, माथिल्लो कोठामा विपी बस्नुहुन्थ्यो, सुरक्षागार्डसँगै म पनि सुतेँ’–उनले भने।
कांग्रेसका अर्का पूराना नेता रामप्रसाद खनालले आफू पनि त्यसबेला विपीको सुरक्षामा खटिएको बताए। ‘अग्निकुमारको घरमा पनि मण्डलेहरुले आक्रमण गर्ने प्रयास गरेका थिए, तर सफल हुन सकेन–उनी त्यसबेलाका घटना सम्झिन्छन्–‘सुरक्षाको काममा म पनि खटिएको थिएँ।’
त्यतिबेला विपीले भनेका थिए–‘हामी हतोत्साही हुनुहुँदैन, बहुदललाई जसरी पनि जिताउन पर्छ।’
अग्निकुमारकै घरमा वकिलहरुको पनि कार्यक्रम थियो। पूराना अधिवक्ता नेत्रबहादुर नेपालले विपी सहभागी कार्यक्रममा आफूहरु २ सय जना सहभागी भएको सुनाए।
‘कार्ड बाँडेरै कार्यक्रमस्थलमा २ सय जनालाई सहभागी गराइएको थियो–उनले भने–कम्पाउण्ड बाहिर माइक राखिएको थियो, सीमित व्यक्तिलाई भित्र जान दिइयो, अरु कार्यकर्ता तथा सर्वसाधारणले बाहिरैबाट विपीका कुरा सुन्थे।’
वामदेव जोशीको अध्यक्षतामा भएको कार्यक्रममा विपीले वकिलहरुलाई भनेका थिए–‘तपाईहरु पनि कानूनी राज्यको वकालत गर्नुहुन्छ, हामी कांग्रेसहरु पनि कानूनी राज्य र प्रजातन्त्रको लागि लडेका छौं।’
बुटवलमा आएकै समय विपी कोइरालासँग पत्रकारहरुको पनि साक्षात्कार भएको थियो। पत्रकार सम्मेलनमा पूराना पत्रकार अर्जुन ज्ञवालीले आफूले २ वटा प्रश्न सोधेको र त्यसको विपी कोइरालाले चित्त बुझ्दो जवाफ दिएको बताए।
सुरुमा प्रश्न गर्न एकदम डर लागेको र पछि आफूले पनि सहज तरिकाले प्र्रश्न सोधेको र सहज तरिकाले जवाफ पाएको ज्ञवालीले बताए।
जनमत संग्रहपछि विपी कोइराला पाल्पा पुगे। जनमत संग्रहको नतिजा अनुसार सुधारिएको पञ्चायती व्यवस्थाको पक्षमा बढी मत आएको थियो। सुधारिएको पञ्चायती व्यवस्था मान्ने कि नमान्ने भनेर जनताको राय बुझ्न विपी पाँचै विकास क्षेत्रको भ्रमणमा निस्किएको कांग्रेस पाल्पाका तत्कालीन सचिव हरि नेपालले बताए।
‘जनमत बुझ्न आउनुभयो, पाल्पाका कार्यकर्ताले पनि सुधारिएको पञ्चायतलाई नमान्ने भन्ने राय दिएका थिए–त्यतिबेला विपीलाई कार्यकर्ताले सुनाएको कुरा सम्झिदै उनले भने–त्यसबेला विपीले कांग्रेस पाल्पा जिल्ला समितिको बैठकमा पनि उपस्थिति जनाउनुभएको थियो।’
पाल्पामै विपीले नेपाल विद्यार्थी संघको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा विपीले ‘साम्यवादमा स्वतन्त्रता थपिदियो भने प्रजातन्त्र बन्छ, प्रजातन्त्रबाट स्वतन्त्रता झिकिदियो भने साम्यवाद हुन्छ’ भनेको नेपालले सम्झिए। पाल्पामा विपी कोइराला धवल पुस्तकालय नजिक हरि भट्टराईको घरमा बसेका थिए।
२००७ सालको क्रान्तिअघि पनि विपी कोइराला पहिलो पटक पाल्पा पुगेका थिए। राजा त्रिभुवनलाई भगाएर ल्याएर पाल्पाबाटै शासन गर्ने तयारीका साथ विपी पाल्पा आएको हरिप्रसाद नेपालले उल्लेख गरे।
‘पाल्पामा २००७ सालको क्रान्तिमा समानान्तर सरकार बनाउन थालिएको थियो, राजा पाल्पा पुग्ने र पाल्पाबाटै शासन गरेर राणाशासन फाल्ने भन्ने योजना थियो–नेपालले भने–त्रिभुवन पाल्पा आउन दुःख मानेर भारतीय दुतावासमा शरण लिन गएकाले राजनीति अलमलमा परेको थियो, विपीको इच्छा नेपालबाटै राणाशासन फाल्ने थियो।’ यो कुरा विपीले आफ्नो आत्मवृतान्तमा पनि उल्लेख गरेका छन्।
यसरी असफल भयो त्रिभुवनलाई पाल्पा भगाउने विपीको योजना
२००७ सालको शसस्त्र क्रान्ति गर्दा पहिले राजालाई दरबारबाट भगाउनुपर्ने र भगाएर पाल्पा लैजानुपर्ने बारेमा विपी कोइरालाको सुवर्ण सम्शेरसँग छलफल भयो।
‘एयरपोर्टसम्म हामीले हेलिकप्टर ल्याउन सक्यौं भने त्यही हेलिकप्टरबाट उनलाई (राजा) पाल्पामा लग्न सकियो भने, पाल्पामा नयाँ सरकार बनाउने, अनि त्यो सरकारलाई हिन्दुस्तानको अन्तर्राष्टिय मान्यता दिलाउने र क्रान्तिलाई बढाएर लिएर जाने भनेर हामीले प्लान गरेका थियौं । त्यसका लागि पाल्पाका कमाण्डर इनचिफलाई मिलाउन पर्ने कुरा थियो । अब को जाने पाल्पा ?’–आत्मवृतान्तमा विपीले भनेका छन्।
त्यसपछि गोरखपुर नजिक नेपाली कांग्रेसको महासमिति बैठक बस्छ। त्यो बैठकपछि विपी कोइराला भूमिगत भएर पाल्पा पुगे। पाल्पाका कमाण्डर इनचिफ पनि सी क्लासका राणा थिए। तिनै राणाका छोरासँग कलकत्तामा सुवर्ण शमसेरले विपीलाई परिचय गराए।
पाल्पाका कमाण्डर इन चिफका छोरासँग विपी कोइराला पाल्पा पुगे। त्यहाँ पुगेर कमाण्डर इनचिफलाई भेटे। तानसेन भन्दा माथि डाँडाँमा क्याम्प बनाएर बसेका थिए।
आत्मवृतान्तमा विपीले भनेका छन्–‘म आउने भनेर झन एउटा भोज जस्तो इन्तजाम गरेका थिए । त्यहाँ म आएँ । मैले खाना खाइसकेपछि मैले एकछिन उनीसँग कुरा गरें। मैले २ वटा प्रस्ताव राखें। एउटा उनीहरुसँग हजार १२ सय बन्दुक थियो। त्यो हामीलाई दिनुपर्छ र अर्को कुरा राजालाई हामीले यहाँ ल्यायौं भने राजालाई बस्न इन्तजाम गरिदिनुपर्छ। उनले भनें यो त हामीले गर्न सक्छौं । किन गर्न नसक्ने ? त्यसकुरामा सुवर्णजीलाई भन्दिनु मलाई भर गरे हुन्छ। अनि उनले मलाई भने तपाईले मलाई यति पत्याउनुभयो। म कृतज्ञ छु।’
पाल्पाबाट फर्केर विपी कोइराला बुटवल आउँछन्। २ रात बुटवलमा बास बसेर कलकत्ता जान गोरखपुर तिर लाग्छन्। कलकत्ता पुगेर शुवर्ण समशेरसँग राजालाई पाल्पामा पठाउने तरिकाबारे कुरा गर्छन्। त्यसको लागि पहिले राजासँग सम्पर्क राख्नुपर्ने थियो। राजासँग सम्पर्क राख्ने उपाय विपीले आत्मवृतान्तमा यसरी लेखेका छन्–‘राजालाई कलकत्ताबाट जुन सिगरेटहरु (चुरोट) जान्थे, त्यसको एउटा सिगरेटमा सुर्तीहरु झिकेर नेपाली कागजमा लेख्नुपर्ने सन्देशहरु लेखेर त्यसलाई खोक्रोभित्र भरियो, त्यसको दुबै टुप्पामा सुर्तीहरु भरियो। त्यसलाई प्याकेटमा भरेर बन्द गर्ने इन्तजाम पनि गर्नुभएको थियो सुवर्णजीले। राजाको दरबारमा आउनेजाने मान्छेले राजालाई त्यो सिगरेट टक्राउने इन्तजाम पनि भएको रहेछ। सम्पर्क गर्ने त्यो पनि एउटा उपाय रहेछ र सुवर्णजीले त्यो पनि गर्नुभयो।’
राजासँग सम्पर्क भएपछि उनलाई भगाउन एउटा हेलिकप्टरको व्यवस्थापन गर्ने विपीले कोशिस गरे। ‘हिन्दुस्तान (भारत)सँग भन्यौं। उनीहरुले भने हम लोगो के पास त हेलिकप्टर नहीँ है आपका पास कैसे होगा। हिन्दुस्तान त राजालाई आफ्नो कब्जामा गर्न खोज्थ्यो। उसले हामीलाई त्यो किन दिन्थ्यो।’
हेलिकप्टर हात पर्ने सम्भावना नभएपछि विपी कोइरालामा अर्को सोंचाइ आयो। ‘अलिकति मान्छे पठाउने। राजा बाहिर निस्कन्छन्। सम्पर्क गर्ने र गढीमा भगाएर ल्याउने। गढीमा हाम्रा मान्छे रहन्छन् र राजा निस्कने बित्तिकै हामी लिएर हिड्छौं। अरु कहीं त मुठभेड हुँदैन त्यसको निम्ति पनि कोशिश भयो। गणेशमान सिंहको योजनामा सुन्दरराज चालिसे र अर्को एकजना जो पछि बडाहाकिम पनि भए, काठमाडौ आए । अलिकति हतियार पनि लिएर आए। त्यो कसरी–कसरी प्रकट भयो। ती सबै समातिए तर गणेशमानजी भाग्नुभयो। तर सिमाना नाघ्नु भन्दा अघि नै पक्राउ पर्नुभयो। खुब पिटाइ पर्यो। असाध्यै यातना दिइयो उहाँलाई। यसको पनि एउटा रोमाञ्चित इतिहास छ’–आफ्ना प्रयास असफल भइसकेपछि राजा त्रिभुवन तर्सेर यिनीहरुबाट यो काम हुँदैन भनेर त्रिभुवनले सोंचेको विपीले लेखेका छन्।
राजा त्रिभुवनलाई कब्जामा लिन भारतले पहिलेदेखि प्रयास गरेको आत्मवृतान्तमा विपी उल्लेख गरेका छन्–हिन्दुस्तानले त पहिलेदेखि नै घुसपेठ गरेको थियो। अनि त्यो योजना, भारतीय राजदुतावास जाने अनि त्यहाँबाट हिन्दुस्तान जाने कुरा बनेछ। भारतीय राजदुतावासमा जानेबित्तिकै राजासँगको हाम्रो सम्पर्क समाप्त भयो। म त्यसबखतमा पटनामा थिएँ। हामीले वायरलेस चालु राखेका थियौं। यत्तिकैमा के खबर दिन्छ भने राजाले भारतीय राजदुतावासमा प्रवेश गरे र आफ्ना पूरा परिवारका साथ शरण लिए। त्यो सुनेपछि मैले भनें अब हाम्रो हातबाट गयो।’