काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार पनि चिकित्सकले गोप्यरुपमा डायलासिस गरेका छन् ।
बुधबार बिहान धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा भर्ना भएका ओलीलाई चिकित्सकहरुले दिउँसो आइसीयुमा राखेर उनको आकस्मिक डायलासिस गरेका थिए।
बिहीबार पनि बिहान डायलासिस गरिएको उच्च स्रोतले पुष्टि गरेको छ। निजी चिकित्सक डा. दिव्यासिंह शाहको संलग्नतामा ओलीको डायलासिस गरिएको हो ।
आवश्यक परेमा भोलि अर्थात शुक्रबार पनि ओलीको डायलासिस गर्ने तयारीमा चिकित्सकहरु छन्।
र, अझै केही दिन सुरक्षित उपचारका लागि ओली अस्पताल नै बस्नु पर्ने चिकित्सकको सुझाव छ। ओलीको उपचारमा कुनै व्यवधान नआओस् भनेर अस्पताल परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रधानमन्त्री निकट स्रोतले पनि रिपोर्टटमा क्रेटिनाइन् बढी देखिएपछि उनको डायलासिस गर्नु पर्ने बाध्यता आएको बताएको छ।
मिर्गौलाले रगत सफा गर्न नसकेपछि मेसिनको माध्यमबाट रगत सफा गर्ने विधिलाई डायलासिस भन्ने गरिन्छ।
डायलासिसबाट रगतमा जम्मा भएको फोहोर तत्व, अनावश्यक नुन, पानी हटाउने गरिन्छ। खासगरी मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतबाट तल झरेमा डायलासिसको आवश्यकता पर्ने मिर्गौला रोग विशेषज्ञ डा. महेश मास्केको भनाई छ ।
तर यो उपचार अस्थायी हुने भएकाले ओलीको पुनः मिर्गौला प्रत्यारोपण कहाँ र कहिले गर्ने भन्नेमा चिकित्सकबिच छलफल भइरहेको स्रोतको भनाई छ।
ओलीको १२ वर्ष अघि भारतस्थित नयाँ दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।