काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक आज बस्दैछ। यसअघि साउन ६ मा बसेको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएपछि केहीबेरमै टुंगिएको थियो।
पार्टीमा विवाद चर्किएपछि गत असार १० देखि सुरु भएको स्थायी कमिटी बैठक पटक–पटक स्थगित हुँदै आएको छ। सहमतिका प्रयासहरु भए पनि सफल हुन सकेको छैन।
आज पनि स्थायी कमिटी बस्नुअघि दुई अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर सहमतिको प्रयास गर्ने बताइएको छ। त्यसपछि बैठक बस्ने या नबस्ने तय हुने नेताहरुले बताएका छन्।
पार्टीभित्रको प्रचण्ड–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले नमाने पनि मंगलबारको बैठक नरोक्ने जनाएको छ।
नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी समिति बैठक अब नरोक्ने र आवश्यक परे केन्द्रीय समितिको बैठक समेत बोलाउने तयारी एक साथ अघि बढाएका छन्।
सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको शीर्ष नेताहरुको छलफलले ओलीले रोक्न चाहे पनि बैठक नरोक्ने निर्णय गरेको थियो । छलफलमा दाहालसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।
दाहाल नेपालमा खेमामै रहेका भनिएका वामदेव गौतम र रामबहादुर थापा बादल सहभागी नभएको दाहालको सचिवालयले जनाएको छ।